भोटेकोशी बाढीबाट १२ वटा हाइड्रोको ९८३ जना अझै बेपत्ता

२०८३ भदौ १७ गते

भोटेकोशी बाढीबाट  १२ वटा हाइड्रोको ९८३ जना अझै बेपत्ता

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। बाढीका कारण दुई जिल्लाका १२ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्, जसको कुल क्षमता ६६९ मेगावाट रहेको छ।

प्राप्त विवरणअनुसार प्रभावित आयोजनामध्ये ८ वटा आयोजना सञ्चालनमा रहेका छन् भने ४ वटा निर्माणाधीन अवस्थामा छन्। सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता २८१ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ३८८ मेगावाट रहेको छ।

Advertisement:

Ad
Ad

बाढीबाट क्षतिग्रस्त आयोजनामध्ये ११ वटा आयोजनासँग सम्बन्धित ९८३ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। बाढीपछि आयोजना क्षेत्रमा रहेका कर्मचारी, कामदार तथा स्थानीयको अवस्था अझै पूर्ण रूपमा यकिन हुन सकेको छैन।

रसुवामा ६ आयोजना प्रभावित

रसुवा जिल्लामा बाढीबाट प्रमुख रूपमा ६ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल क्षमता ४९४ मेगावाट रहेको छ।

रसुवाको प्रभावित आयोजनामा २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ निर्माणाधीन अवस्थामा छ। नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले प्रवद्र्धन गरिरहेको उक्त आयोजनामा ठूलो क्षति पुगेको विवरणमा उल्लेख छ।

त्यस्तै, १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना सञ्चालनमा रहेको छ। रसुवागढी हाइड्रोपावर कम्पनीले प्रवद्र्धन गरेको यस आयोजनासँग सम्बन्धित ५५७ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

यसैगरी १२० मेगावाटको रसुवा–भोटेकोशी आयोजना निर्माणाधीन अवस्थामा छ। लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रालिले प्रवद्र्धन गरिरहेको उक्त आयोजनासँग सम्बन्धित ९३ जना सम्पर्कविहीन छन्।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजना परीक्षण चरणमा रहेको छ। उक्त आयोजनासँग सम्बन्धित ४ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

त्यस्तै, सञ्चालनमा रहेको २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनासँग सम्बन्धित ४१ जना र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनासँग सम्बन्धित ८ जना सम्पर्कविहीन रहेको उल्लेख छ।

नुवाकोटका ६ आयोजना प्रभावित

नुवाकोटमा पनि बाढीबाट प्रमुख ६ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्।

नुवाकोटका प्रभावित आयोजनामा २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना, १४।१ मेगावाटको देवीघाट जलविद्युत् आयोजना, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र २५ मेगावाटको सौर्य विद्युत् आयोजना सञ्चालनमा रहेका छन्।

त्यस्तै, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ र १५।६ मेगावाटको मिडिल त्रिशूली गंगा आयोजना निर्माणाधीन अवस्थामा छन्।

नुवाकोटमा प्रभावित आयोजनामध्ये माथिल्लो त्रिशूली–३ ‘बी’सँग सम्बन्धित ४२ जना, मिडिल त्रिशूली गंगासँग सम्बन्धित १९१ जना, देवीघाटसँग १ जना, माथिल्लो त्रिशूली–३ ‘ए’सँग १ जना र सौर्य विद्युत् आयोजनासँग सम्बन्धित २ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

माथिल्लो त्रिशूली–३ ‘ए’मा मात्रै २७३ जना प्रभावित

बाढीबाट माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा समेत उल्लेख्य क्षति पुगेको छ। ६० मेगावाट क्षमताको उक्त आयोजनाको बाढीपछिको क्षतिको विवरण अद्यावधिक गर्ने काम भइरहेको छ।

बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाको उत्पादन, निर्माण तथा पूर्वाधारमा परेको क्षतिको पूर्ण विवरण अझै संकलनकै क्रममा रहेको छ। आयोजनाका संरचना, पहुँचमार्ग, प्रसारण पूर्वाधार तथा आयोजना क्षेत्रमा रहेका कर्मचारी र कामदारको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

भोटेकोशीमा आएको बाढीले जलविद्युत् आयोजनासँगै सडक, पुल, व्यापारिक संरचना तथा सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रभावित आयोजनाको पुनः सञ्चालन तथा पुनर्निर्माणका लागि ठूलो लगानी आवश्यक पर्ने देखिएको छ।