भोटेकोशीको बुधबारकोे बाढी: अर्थतन्त्रमा २ खर्बमाथिको क्षति,कहाँ केके भयो क्षति ?

२०८३ भदौ ११ गते

भोटेकोशीको बुधबारकोे बाढी: अर्थतन्त्रमा २ खर्बमाथिको क्षति,कहाँ केके भयो क्षति ?

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले अर्थतन्त्र र भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ ।

 

Advertisement:

Ad
Ad

सरकारको प्रारम्भिक अनुमान अनुसार बुधबारको बाढीले अर्थतन्त्रमा २ खर्बमाथिको क्षति गरेको छ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालका अनुसार पूर्वाधार क्षेत्रमा मात्रै २ खर्बमाथिको क्षति अनुमान गरिएको छ ।

 

उनका अनुसार बाढीले पूर्वाधारमा व्यापक क्षति गरेको छ । सरकारले पुल र सडक निर्माणलाई प्राथमिकता दिने उनले बताए । बाढीले सडक र पुलबाहेक ऊर्जा र पर्यटनमा अकल्पनीय क्षति गरेको छ ।

 

सडक विभागको प्रारम्भिक अनुमान अनुसार रसुवागढीबाट गल्छीसम्म मात्रै दुई दर्जन पुल बगेका छन् । बेत्रावतीदेखि रसुवागढीसम्मको ४० किलोमिटर सडक बाढीले पूर्णरूपमा बगाएको छ । उता रसुवागढी भन्सार पूर्णरूपमा क्षतिग्रस्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार रसुवागढी भन्सारको भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएको छ । केही कर्मचारी अभैm पनि सम्पर्कविहीन छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघ अनुसार बाढीका कारण मालवाहक सवारीसाधन, यातायात व्यवसायी र मजदुर प्रभावित भएका छन् ।

 

महासंघ महासचिव बद्रीप्रसाद चौलागार्इंका अनुसार बाढीले टिमुरे भन्सार यार्डमा रहेका मालवाहक सवारीसाधन बगाएको छ । उनका अनुसार बेत्रावती क्षेत्रमा समेत पार्किङ गरिएका मालवाहक सवारीमा ठूलो क्षति पुगेको छ ।

 

रसुवा भन्सार यार्डमा करिब २ सय कन्टेनर सामान रहेको अनुमान व्यवसायीले गरेका छन् । बाढीले सबै कन्टेनर बगाएको छ । जसले गर्दा यसको आर्थिक क्षति मूल्यांकन गर्न भने केही समय लाग्ने बताइएको छ ।

 

भन्सारमा सयौँको संख्यामा सवारीसाधन समेत बगेका छन् । चाडबाडको मुखमा आयात गरिएका अधिकांश विद्युतीय सवारीसाधन बाढीमा बगेको व्यवसायीले बताएका छन् ।

 

नेपाल उद्योग वाणिज्य महासंघ अनुसार प्रारम्भिक रिपोर्टले भौतिक पूर्वाधारमा धेरै ठूलो क्षतिको अनुमान गरिएको छ । बाढीले सर्वसाधारण, तीर्थयात्री, जनसमुदाय, उद्योगी–व्यवसायीमा असर पुगेको छ ।

 

महासंघले आफ्ना तर्फबाट सहयोग गर्न प्रतिबद्ध रहेको समेत जानकारी गराइएको छ । विनाशकारी विपद्बाट सर्वसाधारणका घर, उद्योगी–व्यवसायीका पसल, सवारीसाधन, पुल, जलविद्युत् गृहहरूका अतिरिक्त धेरै ठूलो क्षति पुगेको महासंघको भनाइ छ ।

९०१ मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति  

बाढीका कारण रसुवा जिल्लामा मात्र सञ्चालनमा रहेका पाँच तथा निर्माणाधीन तीन गरी आठ जलविद्युत् आयोजना प्रभावित भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता ४ सय ३१ मेगावाट र निर्माणाधीन आयोजनाको क्षमता ४ सय ७० मेगावाट छ । प्रभावित आयोजनामा माथिल्लो त्रिशूली–१, रसुवागढी, रसुवा भोटेकोशी, साञ्जेन खोला, माथिल्लो मैलुङ ‘ए’, मैलुङ खोला, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजना छन् ।

उता, नुवाकोटमा सञ्चालनमा रहेका चार तथा निर्माणाधीन दुई गरी ६ आयोजना पनि बाढीबाट प्रभावित भएका छन् । ती आयोजनाको कुल क्षमता सञ्चालनतर्फ १ सय २३ मेगावाट र निर्माणाधीनतर्फ ५२।६ मेगावाट छ ।

प्रभावित आयोजनामा त्रिशूली, देवीघाट, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी, मिडिल त्रिशूली गंगा तथा २५ मेगावाट क्षमताको सौर्य आयोजना रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत् प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको छ । प्रभावित संरचनाको अवस्था मूल्यांकन गर्दै सम्भव भएसम्म विद्युत् सेवा तत्काल पुनर्स्थापना गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।

बाढी जोखिमबारे तल्लो तटीय क्षेत्रका बासिन्दालाई पूर्वसूचना उपलब्ध गराउन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले २ लाखभन्दा बढी एसएमएस अलर्ट पठाएको मन्त्रालयले जनाएको छ ।

बाढीबाट केन्द्रले जडान गरेका गेज स्टेसन लगायत केही संरचनामा समेत क्षति पुगेकाले थप जोखिम सम्बन्धी सूचना प्रवाहमा कठिनाइ उत्पन्न भएको छ ।

आजै ऊर्जा मन्त्रालयले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० सँग पनि छलफल गरी बाढीबाट जलविद्युत् आयोजनामा भएको क्षति, प्रभावित जनशक्तिको उद्धार तथा आयोजना पुनर्स्थापनाका विषयमा जानकारी लिएको थियो ।

छलफलमा निजी क्षेत्रका आयोजनाको क्षतिको विवरण शीघ्र संकलन गर्ने र पुनर्स्थापनाका लागि आवश्यक समन्वय अघि बढाउने विषयमा समेत छलफल भएको छ ।

मन्त्रालयका अनुसार प्रभावित आयोजनाको विस्तृत क्षति विवरण संकलन तथा प्राविधिक मूल्यांकन सम्बन्धित निकायबाट भइरहेको छ । क्षतिको यथार्थ विवरण प्राप्त भएपछि पुनर्स्थापनाका लागि आवश्यक कार्ययोजना सार्वजनिक गर्दै अघि बढाइने छ ।

क्षतिको समग्र विवरण संकलन तथा मूल्यांकनका लागि योजना महाशाखाका सहसचिवको संयोजकत्वमा समिति समेत गठन गरिएको मन्त्रालयले जनाएको छ ।

४०३ पर्यटक सम्पर्कविहीन  

रसुवा बाढीले पर्यटन क्षेत्रमा अकल्पनीय क्षति गरेको अनुमान छ । नेपाल पर्यटन बोर्डले संकलन गरेको विवरण अनुसार ४ सय ३ आन्तरिक तथा वाह्य पर्यटक सम्पर्कविहीन छन् ।

पर्यटन बोर्डका अनुसार ट्राभल एजेन्सीहरूबाट प्राप्त तथ्यांक अनुसार ३ सय ४१ विदेशी र ६२ नेपाली पर्यटक सम्पर्कविहीन छन् । जसमा २ सय ३ पुरुष र २ सय महिला छन् ।

बेपत्ता हुनेमा सबैभन्दा धेरै भारतीय छन् । कुल १ सय ३३ भारतीय पर्यटक बेपत्ता छन् । अमेरिकी ४७ जना बेपत्ता छन् । बेलायती ३३, अस्ट्रेलिया ३४, क्यानडा २४, मलेसिया १९, युक्रेन ७ र दक्षिण अफ्रिकाका ६ पर्यटक बेपत्ता छन् । त्यस्तै सिंगापुरका ६, न्यूजिल्यान्ड र जापान ५र५, जर्मनी ४, फ्रान्स ३ र स्पेनका २ पर्यटक सम्पर्कविहीन छन् ।