२०८२ माघ ०४ गते
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आज दिनुपर्ने भनिएको राजीनामा तत्काल नदिने निर्णय गरेका छन्। झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका उनले राजनीतिक र कानुनी परिस्थितिमा देखिएको अन्योलका कारण राजीनामा दिने प्रक्रिया अस्थायी रूपमा स्थगित गरेका हुन्।
यसअघि शाहले आजै मेयर पदबाट अलग भएर चुनावी अभियानमा सक्रिय हुने तयारी गरेको उनी निकट स्रोतहरूले जनाएका थिए। तर, उम्मेदवारी दर्तासँगै स्वतः पद रिक्त हुने कानुनी व्यवस्था, साथै पछिल्लो समय विकसित राजनीतिक अनिश्चितताले गर्दा अन्तिम क्षणमा उनले राजीनामा रोक्ने निर्णय लिएको बताइएको छ।
शाह नजिकका एक नेताका अनुसार, नेपाली काँग्रेसले अदालतको ढोका ढकढक्याएको अवस्था र निर्वाचन सर्ने वा अन्य प्राविधिक समस्या उत्पन्न हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो रणनीति अपनाइएको हो। “उम्मेदवारी दर्ता गर्दा राजीनामा आवश्यक नपर्ने भन्न खोजिएको होइन, तर अहिलेको अस्थिर अवस्थालाई हेरेर अन्तिम समयसम्म पर्खने निर्णय भएको हो,” ती नेताले स्पष्ट पारे।
निर्वाचन आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको परम्परागत निर्वाचन क्षेत्र मानिने झापा–५ बाट चुनाव लड्ने तयारीमा रहेका शाहले उम्मेदवारी दर्ताको दिनसम्म परिस्थिति मूल्यांकन गर्ने रणनीति बनाएका छन्। यसैबीच, रास्वपाले उम्मेदवार चयनबारे अन्तिम निर्णय गर्न आज दिउँसो २ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बोलाएको छ। मेयर शाह भने राजीनामा नदिई नै दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको छ।
पार्टी कार्यालयमा अहिले नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ। बैठक सम्पन्न भएपछि आजै साँझ ५ बजे पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह जनकपुरतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ। रास्वपाले यस निर्वाचनमा शाहलाई बलियो उम्मेदवारका रूपमा अघि सार्दै झापा–५ मा कडा प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।
प्रतिक्रिया