विदेश तत्काल नजाने अडानबाट पछि हटे बालेन,राष्ट्रसंघको महासभामा आफैँ उपस्थित भएर न्यायको आवाज उठाउने

२०८३ भदौ १९ गते

विदेश तत्काल नजाने अडानबाट पछि हटे बालेन,राष्ट्रसंघको महासभामा आफैँ उपस्थित भएर न्यायको आवाज उठाउने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आफैँ सहभागी भएर न्यायको आवाज उठाउने तयारी गरेका छन् । यसअघि परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउने तयारी गरिएको भए पनि भदौ १० गते गएको विनासकारी बाढीपछि जलवायु परिवर्तनको मुद्दा र त्यसले नेपालजस्ता देशमा पारेको प्रभावबारे आवाज उठाउने तयारी गरिएको हो । 

 

Advertisement:

Ad
Ad

महासभाको उच्चस्तरीय बैठकमा सहभागी भएर जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको संकट र जलवायु न्यायको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाउन प्रधानमन्त्री शाह आफैं न्यूयोर्क जाने तयारी भएको उनी निकट स्रोतले जनाएको छ ।

 

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरु हुँदैछ। महासभाको मुख्य उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि सञ्चालन हुने कार्यतालिका छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क जाने तय भएको हो।

 

महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण नेपालले सामना गरिरहेका विपद्का घटनाबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ। विशेषगरी बाढी, पहिरोलगायत विपद्बाट भइरहेको मानवीय तथा भौतिक क्षति र त्यसको न्यूनीकरणका लागि जलवायु न्यायको आवश्यकता उनले विश्व समुदायसमक्ष उठाउने अपेक्षा गरिएको छ।

 

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे औपचारिक निर्णय भने आगामी मन्त्रिपरिषद् बैठकबाट हुने बताइएको छ।