अस्ट्रेलियाले आप्रवासनमा कडाइ गर्दै, विद्यार्थीका परिवारलाई भिसा नियममा रोक

२०८३ असोज ०२ गते

अस्ट्रेलियाले आप्रवासनमा कडाइ गर्दै, विद्यार्थीका परिवारलाई भिसा नियममा रोक

काठमाडौँ । अस्ट्रेलिया सरकारले आप्रवासीको संख्या घटाउने उद्देश्यले अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारका सदस्यलाई दिइने भिसामा कडाइ गर्ने भएको छ। गृहमन्त्री टोनी बर्कले बिहीवार नेशनल प्रेस क्लवमा सम्बोधन गर्दै नयाँ आप्रवासन नियम सार्वजनिक गरेका हुन्।

 

Advertisement:

Ad

सरकारले चालु आर्थिक वर्षमा शुद्ध वैदेशिक आप्रवासनलाई २ लाख ४५ हजारमा सीमित गर्ने र सन् २०२७–२८ सम्ममा २ लाख २५ हजारमा झार्ने लक्ष्य लिएको बर्कले बताए। यो घोषणा अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले नयाँ जनसंख्या तथ्यांक सार्वजनिक गरेकै दिन भएको हो। तथ्यांकअनुसार मार्चसम्मको एक वर्षमा शुद्ध वैदेशिक आप्रवासनमार्फत अस्ट्रेलियाको जनसंख्यामा २ लाख ९२ हजार १०० जना थपिएका छन्। अघिल्लो १२ महिनामा यो संख्या ३ लाख ९ हजार ५०० थियो।

 

नयाँ नियमअनुसार अस्ट्रेलियामा अध्ययनका लागि भिसा पाएका अन्तर्राष्ट्रिय विद्यार्थीले अब आफ्ना परिवारका सदस्यलाई स्वतः आफूसँगै ल्याउन पाउने छैनन्। यद्यपि, हाल अस्ट्रेलियामा अध्ययनरत र आफ्नो भिसामा परिवारका सदस्य समावेश गरिसकेका विद्यार्थीलाई नयाँ व्यवस्थाबाट छुट दिइनेछ। सरकारी तथ्यांकअनुसार सन् २०२५–२६ मा अस्ट्रेलियाले ३ लाख ३७ हजार ४२७ विद्यार्थी भिसा जारी गरेको थियो। त्यसमध्ये ४५ हजार ९९१ भिसा मुख्य आवेदकका आश्रित वा परिवारका सदस्यका लागि थिए।

 

प्रशान्त क्षेत्र तथा आसियान देशका विद्यार्थी र पीएचडी विद्यार्थीलाई भने नयाँ परिवारसम्बन्धी नियमबाट प्रभावित नहुने बर्कले बताए।

लामो समयसम्म अस्ट्रेलियामा बस्नका लागि पटक–पटक अध्ययनको विषय वा कोर्स परिवर्तन गर्ने विद्यार्थीमाथि पनि सरकारले निगरानी बढाउने भएको छ। बर्कका अनुसार विद्यार्थीले बसाइ लम्ब्याउनका लागि उच्च तहको योग्यता हासिल गर्ने दिशामा अघि बढ्नुपर्ने व्यवस्था गरिनेछ।

त्यसैगरी, भिसाको अवधि सकिएपछि पनि अस्ट्रेलियामा बसिरहने व्यक्तिमाथि निगरानी र कानुनी कार्यान्वयनलाई कडाइ गर्न थप १०० जना अनुपालन अधिकारी नियुक्त गरिने भएको छ।

दक्ष कामदारको भिसा आवेदन मूल्यांकनमा पनि परिवर्तन गरिनेछ। निर्माण, कृषि लगायत कामदारको आवश्यकता बढी रहेका क्षेत्रमा आवश्यक सीप भएका आप्रवासीलाई प्राथमिकता दिने सरकारको योजना छ।

 

अस्ट्रेलियाले वर्किङ होलिडे भिसा कार्यक्रमसमेत पुनर्संरचना गर्ने भएको छ। दोस्रो र तेस्रो वर्षको भिसाका लागि अब ‘बलट’ अर्थात् छनोट प्रणाली लागू गरिनेछ। हाल १२ महिनाको वर्किङ होलिडे भिसा पाएका व्यक्तिले क्षेत्रीय क्षेत्रमा ८८ दिन काम गरेपछि दोस्रो वर्षको भिसा र त्यसपछि थप ६ महिना क्षेत्रीय क्षेत्रमा काम गरेमा तेस्रो वर्षको भिसा पाउने व्यवस्था छ। नयाँ बलट प्रणालीअन्तर्गत दोस्रो वर्षका लागि ४५ हजार र तेस्रो वर्षका लागि ५ हजार योग्य आवेदक छनोट गरिनेछ। सरकारका अनुसार सन् २०२५–२६ मा ५७ हजार जना दोस्रो वर्षको तथा ३१ हजार जना तेस्रो वर्षको वर्किङ होलिडे भिसाका लागि योग्य भएका थिए।