वषौँदेखि अलपत्र दुधौराको पुल १ महिनाभित्र बन्ने भयो,ठेकेदारलाई समातेर कुलमानले दिए चाँडो सक्न निर्देशन

२०८२ मंसिर २६ गते

वषौँदेखि अलपत्र दुधौराको पुल १ महिनाभित्र बन्ने भयो,ठेकेदारलाई समातेर कुलमानले दिए चाँडो सक्न निर्देशन

बारा । पूर्व —पश्चिम राजमार्गको पथलैया—ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायी जनाएका छन् ।मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए ।


मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुहरुले सास्ती बेहोर्नु परेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत लाइन देखाएर काम रोक्न नहुने र तत्काल सम्पन्न गर्नुपर्ने बताए। उनले पुल नजिकबाट गएको ११ केभी लाइनले निर्माणमा कुनै असर नपर्ने उल्लेख गरे ।

Advertisement:

Ad
Ad

 

पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती—हिराचन उपक्रम ९जेभी० काठमाडौंको रवि सिंहले पछिल्लो पटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए ।

 

चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती—हिराचन उपक्रम (जेभि)सँग २४ असार २०७५मा १७ करोड २२ लाख ९कर सहित०मा ठेक्का समझौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण असार २०७८ भित्र सम्पन्न गर्नु पर्ने थियो । पछिल्लो म्याद थप बमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नु पर्नेछ । पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।