त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना

२०८२ चैत २७ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने स्वचालित बाह्य डिफिब्रिलेटर ‘एइडी’ स्थापना गरिएको छ ।

Advertisement:

Ad
Ad

नेपालमा आपतकालीन स्वास्थ्य सेवा सुदृढीकरणतर्फ महत्वपूर्ण मानिएको यो उपकरण अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा जडान गरिएको छ । यो पहल हाप्सा नेपाल र विमानस्थल प्रशासनबीचको सहकार्यमा सम्पन्न भएको हो ।

मुटुको धड्कन अचानक बन्द हुने अवस्था अर्थात् सडन कार्डियाक अरेस्ट विश्वभर मृत्युका प्रमुख कारणमध्ये एक मानिन्छ । नेपालमा अस्पताल बाहिर हुने यस्ता घटनामा बाँच्ने दर अत्यन्त न्यून (झण्डै शून्यकै नजिक) रहेको अनुमान गरिएको छ । विशेषज्ञहरूका अनुसार यसको मुख्य कारण समयमै पहिचान र तत्काल उपचारको अभाव हो ।

‘एइडी’ एक सरल तर अत्यन्त प्रभावकारी जीवनरक्षक उपकरण हो, जसले हृदयको खतरनाक अनियमित धड्कनलाई विद्युतीय झट्का दिई पुनः सामान्य अवस्थामा ल्याउन सहयोग गर्छ । यो उपकरण तालिम प्राप्त स्वास्थ्यकर्मी मात्र नभई साधारण नागरिकले समेत सजिलै प्रयोग गर्न सक्छन्।

विमानस्थलमा जडान गरिएको ‘एइडी’मा स्पष्ट प्रयोग निर्देशन र क्युआर कोड समेत राखिएको छ, जसमार्फत आपतकालीन अवस्थामा प्रयोग गर्ने तरिका भिडियोमार्फत तुरुन्त सिक्न सकिने व्यवस्था गरिएको छ ।

यो पहल हाप्सा नेपालको नेपाल लाइफ सेभर्स कार्यक्रम अन्तर्गतको दीर्घकालीन अभियानको हिस्सा हो । यस कार्यक्रममार्फत देशभर जीवनरक्षक सीपसहितको समुदाय निर्माण गर्ने लक्ष्य राखिएको छ ।

हालसम्म यस अभियान अन्तर्गत सशस्त्र प्रहरी बलका २ हजारभन्दा बढी जवानलाई सिपीआर तालिम दिइसकिएको छ भने विद्यालयस्तरमा पनि सिपीआर तालिम सुरु गरिएको छ । साथै, शिक्षा मन्त्रालयको पाठ्यक्रम विकास समितिसँग जीवनरक्षक सीपहरूलाई औपचारिक शिक्षामा समावेश गर्ने पहल जारी रहेको जनाइएको छ ।

त्यसैगरी, सर्वसाधारणलाई लक्षित गर्दै मोबाइल एप तथा सिपीआर सिकाउने शैक्षिक सामग्रीहरू समेत विकास गरिएको छ ।
डा. रामु खरेलले यो पहल केवल उपकरण स्थापना नभई अस्पताल पुग्नुअघि नै जीवन बचाउन सकिने प्रणाली निर्माणतर्फको प्रयास भएको बताए।

त्यस्तै, सिपीआर कार्यक्रम प्रमुख डा. कमल थापाले प्रारम्भिक उपचार र व्यापक तालिमको आवश्यकता औँल्याए ।
हाप्सा नेपालले आगामी दिनमा राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्दै देशभर एइडी उपकरणको पहुँच विस्तार र तालिम कार्यक्रमलाई थप सशक्त बनाउने योजना रहेको जनाएको छ ।