काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले विक्री गरेको शतप्रतिशत हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले फागुन २ गतेदेखि २२ गतेसम्म शतप्रतिशत हकप्रद शेयर विक्री गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ७६ हजार २०० जना आवेदकहरूमा फागुन ३० गते ९८ लाख ८८ हजार ४६१ कित्ता हकप्रद शेयर बाँडफाँट गरिएको हो । हकप्रद बाँडफाँटमा नपरेको हकप्रद शेयर बापत्को रकम चैत २ गतेदेखि फिर्ता भुक्तानी गर्न सुरु गरिएको छ ।
यस अवधिमा विक्री हुन नसकेको ४६ लाख ११ हजार ५३९ कित्ता हकप्रद शेयर भने कम्पनीले चैत १२ गतेदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । चैत २० गतेसम्म अवितरित हकप्रद शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।अवितरित हकप्रद शेयरको मुल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक खरीदकर्ताहरूले आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ करोड ४५ लाख रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर विक्री गरेको हो । उक्त हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ११ गते स्वीकृति पाएको थियो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो ।
बुक क्लोजको आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीहरू मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि योग्य भएका थिए । अवितरित शतप्रतिशत हकप्रद विक्री तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रूपैयाँ कायम हुनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !