काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अब छिट्टैनै लोडसेडिङ शुरु हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले उज्यालो नेपालको नायक कुलमान घिसिङको प्रशंसा हुने गरेपनि सत्यता त्यस्तो नभएको बताएका छन् ।
उनले रोष्ट्रममा उभिँदै भने, ‘निजी क्षेत्र र भारतबाट आयात गरेको विद्युतले गर्दा लोडसेडिङ हटेजस्तो अनुभुति भएको छ । त्यसकारण उज्यालोको नायक भनेको उहाँ होइन है,’ खड्काले भने, ‘बरु यो धन्यवाद भारतलाई दिउँ निजी क्षेत्रलाई दिउँ । जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ त्यता धन्यवाद दिउँ न ।’
घिसिङले उद्योगको लाइन काटेर घरमा विद्युत दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको मन्त्री खड्काको आरोप छ । उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे।
उनले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपूर्ति धानिरहेको बताए ।
‘सरकारको शत प्रतिशत लगानी रहेको विद्युत प्राधिकरणले ७०० मेगावाट मात्रै उत्पादन गरेको छ । २८०० मेगावाट विद्युत निजी क्षेत्रले उत्पादन गरेको छ । आज पनि विद्युत आपूर्ति हुन सकेको छैन । हिजो पनि लोडसेडिङ थियो, आज पनि छ,’ उनले भने,’ हिजो पनि उद्योगधन्दातिर बत्ति कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ । अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ । अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ ।’
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !