धनगढी । वि.स २०७२ सालमा निमार्ण कार्य सम्पन्न भएका तीन वटा खानेपानी ट्याङकी अलपत्र परेका छन् । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका वडा नं. १४, १६ र १९ मा बनेका ट्याङकीहरु विगत ८ बर्षदेखि अलपत्र परेका हुन् । तत्कालीन समयमा संघीय सरकारको बजेटबाट ठेक्का मार्फत् निर्माण भएका ट्याङकीहरु हाल सम्म संचालनमा आउन सकेका छैनन् । निमार्ण कार्य सम्पन्न भएको लामो समयसम्म ट्याङकी को पानी पिउन नपाउँदा जनताहरु आक्रोसित भएका छन् । भने प्रयोग विहिन भई मर्मत सम्भार नहुदा ट्यांकी जिर्ण बन्दै गएका छन् ।
तत्कालीन समयमा खानेपानी वितरण तथा व्यवस्थापनका लागि समिति गठन गरिएको थियो । धनगढी १९ मा तिलुराम चौधरी र १४ मा मान बहादुर बिष्टको अध्यक्षतामा समिति गठन गरिएको थियो । भने धनगढी १६ मा पनि समिति गठन भएको थियो । तर २०७२ सालमा गठन गरिएका खानेपानी व्यवस्थापन समितिले ८ बर्षसम्म पानी वितरण गर्न असफल भए ।
धनगढी १९ को खानेपानी व्यवस्थापन समितिका अध्यक्ष तिलुराम चौधरीले २०७४ सालको स्थानीय निर्वाचनमा वडा अध्यक्षमा निर्वाचित भई ५ बर्ष कार्यकाल चलाउँदै गर्दापनि खानेपानी ट्याङकी संचालन नसकिएको बताए । उनले काम गर्नको लागि बजेट अभाव हुदाँ समिति गठन भएको ८ बर्षसम्म खानेपानी संचालन गर्न नसक्ने अवस्था सिर्जना भएको बताए । समिति मार्फत् काम गर्दा खानेपानी संचालन नहुने देखिएपछि तीन वटै ट्याङकी उपमहानगरपालिका मार्फत् नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको जानकारी दिए ।
खानेपानी व्यवस्थापन समितिहरुले ८ बर्षको अवधिमा उपभोक्ताबाट मिटर जडानका नाममा प्रति परिवार ५ सय देखि १ सम्म हजार सम्म उठाएको बताइएको छ । तर पैसा उठाएर केही ठाउँमा पाइप विस्तार गर्नु बाहेक अन्य केही गर्न उपभोक्ता समितिहरुले सकेनन् ।
खानेपानी संस्थानले उपमहानगरपालिका बाट २०८० को साउन मसान्तमा ट्याङकी संचालन, पानी वितरण र रेखदेखको जिम्मेवारी प्राप्त गरेको थियो । साउनमा जिम्मेवारी लिदै मंसिर भित्र उपभोक्ताको धारामा पानी पुर्याउने लक्ष्य लिएको संस्थान पनि बल्ल अहिले आएर प्रतिबेदन तयार गर्न लागेको छ ।
खानेपानी संस्थान धनगढी शाखा प्रमुख शैलेन्द्र शाहले संघिय र प्रदेश सरकारबाट खानेपानीको लागि प्रयाप्त बजेट नआउँदा उपभोक्ता समितिले पानी वितरण गर्न नसकेको बताए । उपभोक्ता समिति र उपमहानगरपालिकाले पानी संचालन गर्न नसक्ने अवस्था आएपछि साउन मसान्तमा नगरसभा बाट निर्णय गराई ३ वटै टयाङकीको जिम्मा संस्थानलाई दिएको बताए ।
उनले भने, प्रधान कार्यालयलाई जानकारी गराई प्रक्रिया अगाडी बढाएका छौ । अहिले प्राविधिकको सहयोगमा त्यहाँका संरचना के कस्ता छन्,कति बजेटमा बनेका छन्,पाइपलाइन कति विस्तार भएको छ , सामान कति लाग्ने भनी प्रतिबेदन तयार गर्ने अवस्थामा पुगेका छौ । अबको ४/५ दिनमा प्रतिवेदन तयार गरि पेश गर्छौ ।
मंसिरभित्र पानी वितरण गर्ने लक्ष्य लिइएकोमा चाडपर्व ,चिठी पत्र लगायत अफिसियल प्रक्रियाले ढिलाई हुन गएको प्रमुख शाहको भनाई छ ।उनले अव दुई महिना ढिलो गरी माघ मसान्त भित्र पानी वितरण गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !