काठमाडौँ । बजेट निर्माणको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग विवाद चर्किएको भन्ने समाचारलाई अर्थमन्त्री प्रकाशशरण महतले घुमाउरो पाराले स्वीकार गरेका छन् । उनले प्रधानमन्त्री र आफू अलग अलग पार्टीबाट प्रतिनिधित्व गर्ने त्यो अनुसार बजेट निर्माणको क्रममा केही विषयमा फरक मत हुनु स्वभाविक भएको बताए ।
शुक्रबार अर्थ मन्त्रालयमा आयाजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा। महतले उनले संचार माध्यममा आए जस्तो ठूलो विवाद भने नभएको दावी गरे । उनी आफू प्रधानमन्त्रीसँग निरन्तर रुपमा संवादमा रहेको समेत दावी गरे । केही सञ्चार माध्यममा प्रधानमन्त्रीसँग छलफल नगरी बजेट निर्माणको प्रकृया अगाडि बढाइएको र त्यसपछि विवाद चर्किएको भन्ने समाचारमा सत्यता नभएको दावी गरे ।
उनले केही विषयहरुमा फरक मान्यता रहे पनि अर्थ मन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनका आधारमा काम गरिरहेको उल्लेख गरे । उनले संसद्ले पारित गरेको चालु आर्थिक वर्षको बजेट अर्थ मन्त्रालयले घटाउन वा कटौती गर्न नसक्ने बताए । तर, संचारमाध्यममा भने बजेट कटौती गरिएको गलत समाचार आएको दावी गरे ।
अर्थमन्त्री महतले अर्थमन्त्रालयले बजेट कटौती वा आकार नघटाएको केवल भन्दै आम्दानी र खर्चको अनुमानित अवस्था मात्रै विश्लेषण गरेको बताए । बजेट कटौती गर्ने अर्थ मन्त्रालयको कुनै सोच नभएको बताउँदै उनले माघ मसान्तसम्म भएको आम्दानी र खर्चका आधार संशोधित लक्ष्य सार्वजनिक गरिएको बताए ।
उनले सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेकामा मन्त्रालयले अर्धवार्षिक मूल्यांकन गरी १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुनसक्ने संशोधित लक्ष्य राखेको बताए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !