काठमाडौँ । नेपाल टेलिकमले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
टेलिकमले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार पुस मसान्तसम्मको कुल आय २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
उक्त रकम गत आवको सोही अवधिको तुलनामा ७९ करोड १७ लाख ५७ हजार रुपैयाँले कमी हो । गत वर्ष २२ अर्ब १० करोड ११ लाख ३७ हजारको आय भएको कम्पनीले जनाएको छ ।
राजश्व तथा खुद मुनाफा परिवर्तन हुनुमा टेलिकमले केही कारणहरू औंल्याएको छ ।जसअनुसार ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा करिब ५२ करोड ९२ लाख ७५ हजारले कमी भएको हो ।
यस्तै, मौसमको प्रतिकूल असरले गर्दा विद्युत आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकाले साइटहरू समयमा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ ।
दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिपर्दा लागत बढेको टेलिकमले जनाएको छ ।
यस्तै टेलिकमले सेवाको दर रेट निर्धारणसम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएको कारणले सेवाको दर रेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको जनाएको छ ।
यस्तै, बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ३४ करोड ७ लाखले कमी भएको टेलिकमको भनाइ छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !