जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियारको निजी लगानीमा सो वडाका युवाहरुका लागि निःशुल्क कम्प्युटर कक्षा संचालन गरिने भएको छ ।
आफ्नो वडाका युवाहरुलाई प्रविधिसंग जोड्ने उद्देश्यले नेपाली कांग्रेस क्षेत्र नम्बर ३(२)का सभापति समेत रहेका वडाध्यक्ष पजियारको लगानीमा निःशुल्क कम्प्युटर कक्षा संचालन गर्न लागिएको हो ।
सो वडाका १४ वर्षदेखि ३५ वर्षसम्म र कम्तीमा ९ कक्षा उतीर्ण गरेका युवाहरुलाई कम्प्युटरको ३ महिने तथा ६ महिने निःशुल्क कक्षा संचालन गरिने वडाध्यक्ष पजियारले जानकारी दिए । कक्षामा सहभागी हुन चाह्ने युवाहरुलाई चैत १२सम्मका लागि दर्ताको समय तोकिएको छ ।
तत्काल वडा १६कै लागि शुरु गरिएको यो कक्षा आगामी दिन यस प्रकारको तालिम विस्तृत रुपमा अगाडी बढाउने वडाध्यक्ष पजियारले प्रतिवद्धता व्यक्त गरे । उनले आगामी दिनमा इलेक्ट्रिीसीयन, प्लम्बर तथा महिलाहरुका लागि उद्यमको तालिम समेत संचालनमा ल्याउने बताए ।
वडास्तरीय निःशुल्क कम्प्युटर कक्षाको उदघाटन नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले गरेका छन् । निधिले उदघाटन गर्दै अहिलेको समयमा युवाहरुलाई प्रविधिमैत्री हुनु अति आवश्यक रहेको बताए ।
उनले वर्तमान समयमा बढ्दै गईरहेको भ्रष्टाचारले प्रविधिले न्युनीकरण गर्न मद्दत पुर्याउने बताए । युवाहरु प्रविधि मैत्रीभए देशमा बढ्दै गईरहेको आर्थिक अनियमितता कम गर्न सहयोगी हुन्छ नै यसका साथै व्यक्तिगत, आर्थिक, सामाजिक विकास गर्न समेत सहयोगी साबित हुने बताए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगर पालिकाका उपप्रमुख किशोरी साह, राष्ट्रिय मुक्ति पार्टीका संजय चौधरी, कपिलेश्वरनाथ युवा कमिटीका अध्यक्ष मनोज साह लगायतका उपस्थिति रहेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !