काठमाडौँ । खराब कर्जा वृद्धिले प्रोभिजनिङ बढ्दा चालु आर्थिक वर्षको पुष मसान्तसम्मको वाणिज्य बैंकहरुको मुनाफा घट्न पुग्यो । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा गत वर्षको तुलनामा १० प्रतिशतले घटेको छ ।
गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३१ अर्ब ९४ करोड ११ लाख रुपैयाँ नाफा कमाएका यी वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ मात्र नाफा कमाएका छन् । समीक्षा अवधिमा ४ बैंकहरुले मात्र नाफा बढाउन सफल भएका छन् ।
अर्थतन्त्र बिग्रिएर त्यसको असर बैंकको मुनाफामा परेको अनुमान सहजै गर्न सकिन्छ । बैंकको मुनाफा घट्दा समग्र अर्थतन्त्रमा के कस्तो असर पर्न जान्छ त ? अर्थविद डा.चन्द्रमणि अधिकारी भन्छन् -“वास्तवमा भन्ने हो भने बैंकहरुको कोभिड अगाडिकै कर्जाहरु पनि उठ्न सकेको थिएन । कोभिडकालमा ४ प्रतिशत मात्र व्यवसाय चलिरहेको थियो । कोभिडपछि बैंकहरुले आक्रामक ढंगले लगानी गरे । कोभिड र त्यसपछि सृजित आर्थिक मन्दीका कारण व्यवसायीहरुले समयमा बैंकलाई व्याज साँवा भुक्तान गर्न सकेनन् यसले बैंकको खराब कर्जाको अंश बढ्न पुग्यो ।”
“बैंकले धितो लिलामी गरेर कर्जा उठाउन खोज्दा पनि आर्थिक मन्दीका कारण घरजग्गा लगायतको धितो लिलामीमा जान सकेन । हिजो पैसा हुँदा सहकारीबाट लिएर बैंकमा तिर्ने बैंकबाट लिएर सहकारीमा दिने परिपाटी थियो यो चक्र टुट्दा ऋणीहरुलाई अप्ठेरो पर्न गयो । यसले बैंकको लगानी फिर्ता आउन सकेन । यसले बैंकको नन पर्फमिङ एसेट बढ्न पुग्यो । भाखा नाघेको ऋण अर्थात नन पफर्मिङ लोनको अंश पनि बढ्न पुग्यो । दुई वर्ष अघिसम्म २ प्रतिशतभन्दा तल रहेको वाणिज्य बैंकहरुको एनपीएल अहिले ३ प्रतिशतभन्दा माथि छ । यसले अर्थतन्त्रमा क्रेडिट चक्र जुन रुपमा चलायमान हुन पर्ने थियो नहुँदा अर्थतन्त्रको गतिरोध बाँकी नै छ भन्ने देखाउँछ । अर्को बैंकको मुनाफा घट्दा पूँजिबजारलाई प्रत्यक्ष असर पर्दछ । मुनाफा घट्दा बैंकले डिभिडेन्ड दिन सक्दैन । यसले राजश्वमा पनि प्रभाव पर्छ । यसले बेंकको समग्र लगानीमानै प्रभाव पार्छ । राजश्व, बैंक र व्यवसायीमा प्रभाव पार्छ । मार्केटमा बैंकिङ क्षेत्रको शेयरको मूल्य घटेर आउने भयो । यसले चौतर्फी असर हुन जान्छ । एकातिर सरकारलाई प्राप्त हुने क्यापिटल गेन ट्याक्स् घट्ने भयो किनभने हाम्रोमा ७५ प्रतिशत अंश शेयर बजारमा बैकिङ क्षेत्रको छ ।”
“अर्कोतिर कर्पोरेट आयकर पनि घट्यो । त्यसैगरी गएको पैसा फिर्ता नआउने हुँदा बैंकलाई एकातिर लगानी गर्न पनि डर हुने अवस्था सृजना हुन्छ । यसले फेरी मुनाफा भएन भनेर बैंकको ठूला लगानीकर्ताहरुले सीईओहरुलाई दवाब दिने अवस्था रहन्छ । नाफा बढाउन दवाब दिन थाल्छन् । बैंकहरुले दबावकै बीच आफ्नो पर्फमेन्स बढाउन लगानी बढाउन थाल्ने अवस्था हुन्छ ।लगानी बढाउँदा समग्रमा नन पर्फमिङ लोन एनपीएल र ननपर्फमिङ एसेटको एनपीएको रेसियो घटेको जस्तो पनि देखिन्छ । तर फेरी बैंकले दबावका बीच गरेको लगानी गुणस्रीय लगानी भए त ठिकै हो नभए फेरी एनपीए बढेर जाने र समग्र वित्तीय क्षेत्र जोखिममा जाने सम्भावना रहन्छ ।”
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !