काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनबाट डा बद्री केसी निर्वाचित भएको घोषणा भएको छ ।
उता पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकारको घोषणा गरेका छन् । पराजित उम्मेदवारका समर्थकहरुले नाराबाजी गरेका थिए ।
अध्यक्षका अन्य दुई उम्मेदवार आरके शर्मा र महेश श्रेष्ठले अनलाइन भोटिङ प्रणाली ह्याक गरेर चुनावमा धाँधली गरिएको भन्दै परिणाम अस्वीकार गर्ने घोषणा गरेका हुन् ।
निर्वाचन समितिले निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरेको छ । अन्य दुई प्रतिस्पर्धीहरु आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन् । डा. केसी एमालेनिकट हुन् ।
काठमाडौंबाट झरेको मत शून्य देखिएको भन्दै उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेको जनाइएको छ । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति पराजित उम्मेदवारहरुले आक्रोश व्यक्त गरेका हुन् ।
शर्मा र श्रेष्ठले निर्वाचन परिणामलाई अस्वीकार गर्ने घोषणा गरे । उपाध्यक्षमा जितेका खगेन्द्र न्यौपानेले पनि निर्वाचनमा धाँधली भएको बताए । आफूलाई जिताइएको भए पनि यो जितलाई स्वीकार नगर्ने उनले बताए ।
अध्यक्षका उम्मेदवार श्रेष्ठले यो निर्वाचन रद्द गरी छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्ने बताए । निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने श्रेष्ठले बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !