काठमाडौं । जीवन बीमा योजनामा पहिलो वर्ष नै सरेण्डर गर्न पाउने गरी नियम बदल्ने विषयमा छलफल गर्न नेपाल बीमा प्राधिकरण सहमत भएको छ ।
प्राधिकरणले आगामी शुक्रबार बस्ने सञ्चालक समिति बैठकमा यस्तो व्यवस्थाका बारेमा छलफल गर्ने भएको हो । अहिले कम्तिमा ३ वर्षको प्रिमियम तिरेपछिमात्रै बिमितले सरेण्डर (व्यतित)गर्न पाउने व्यवस्था छ ।
तर संसदको सार्वजनिक लेखा समितिले गत बिहीबार बिमितले तिरेको बीमाशुल्कमा २५ प्रतिशत सञ्चालन खर्च कटाएर बाँकी रकम फिर्ता गर्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । त्यसपछि उक्त प्रस्ताव सञ्चालक समितिमा छलफल गरिने प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।
अहिलेको आर्थिक संकटले धेरै बिमितले बिमालेख तिर्न चाहे पनि न्यूनतम अवधि नपुगेको भन्दै बीमा कम्पनीले पैसा फिर्ता नदिएपछि जनगुनासाहरु संसदीय समितिसम्म पुगेका थिए ।
त्यसपछि समितिले पनि तिरेको पैसा एक चौथाईभन्दा धेरै काट्न नपाइने गरी नियम बनाउन निर्देशन दिएको छ । अव यस्तो निर्देशन कसरी परिपालना गर्ने भनेर प्राधिकरणले छलफलमा लान लागेको हो ।
अहिले बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने अनुमति दिएको भनेर संसदीय समितिले प्राधिकरणलाई दबाबमा राखिरहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !