काठमाडौं । काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अभिकृत नियु्क्ती ढिलाईका विषयमा मेयर बालेन्द्र शाहले प्रधानमन्त्रीमाथि गरेको कटाक्षलाई उपप्रमुख सुनिता डंगोल खुलेर विरोध गरेकी छिन् ।
एक कार्यक्रममा उपप्रमुख डंगोलले काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन गर्न गठन गरेको समितिले म्याद गुज्रिँदा पनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक गर्न नसकेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छिन् । उनले मेयर साहले छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्नुको साटो उल्टै प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यक्तिगत रुपमै विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत टिकाटिप्पणी गर्न थालेको बताएकी छिन् ।
‘छानविन समितिले के गर्ने भन्ने टुंगो नलगाउन्जेलसम्म केन्द्र सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउने, कारवाही गर्ने वा उहाँको सट्टामा नयाँ प्रशासकीय अधिकृत किन नपठाएको भन्दै निरन्तर आरोप लगाउने कुरा ठिक होइन,’ उनले भनिन्, ‘आफ्नो कर्तव्य पूरा नगर्ने अनि अरुलाई आरोप लगाउने कुरा उचित होइन भन्ने लाग्छ ।’ उनले छानविन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक नगरेको भन्दै केही आशंकाहरु उब्जिएको पनि उल्लेख गरिन् ।
उपप्रमुख डंगोलले छानविन प्रतिवेदनमा प्रमुख प्रशासकीय अधिकृत मात्रै होइन अरुले षडयन्त्र गरेको रहेछ भने त्यसको पनि छानविन हुनुपर्छ र त्यसमा क–कस्को सहभागी छ त्यसको पनि निष्पक्षरुपमा छानबिन हुनुपर्छ भन्नेमा आफू अडिक रहेको पनि जानकारी दिइन् ।
‘त्यो समग्र प्रक्रियामा एक जना व्यक्तिको मात्रै सहभागिता हो कि अरुको पनि छ भन्ने पत्ता लगाएर उनीहरुलाई पनि कारवाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भनिन्, ‘यो संगठित भ्रष्टाचार हो कि भन्ने पनि आशंकाहरु देखिए भने त्यस उपर पनि छानविन गरी कारबाही हुनुपर्छ भनेर पहिला पनि भनेकी थिएँ । अहिले पनि मेरो भनाई यहि छ ।’
मेयर साहले पुरानो बसपार्कस्थित काठमाडौं टावरको प्रक्रिया पूरा नगरी भवन निर्माणको नक्सा स्वीकृति गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि छानबिनका लागि समिति बनाएका थिए ।
भवन निर्माणको नक्सा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएको आरोप लगाउँदै महानगरपालिकाले छानिविन समिति बनाएको हो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !