काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ क्षेत्र वरपर विशेष ट्राफिक व्यवस्था लागू गरेको छ। भक्तजनको सहज आवागमनका लागि तीलगंगा, सिफलचौर, र गुहेश्वरी क्षेत्रमा पार्किङको व्यवस्था गरिएको जनाएको छ।
सम्भावित आपराधिक गतिविधि रोक्न सादा पोसाकमा प्रहरी परिचालन गरिएको र ट्राफिक व्यवस्थापन सहज बनाउन ८९० जना ट्राफिक प्रहरी खटाइएको छ । ट्राफिक प्रहरीले भक्तजनलाई ट्राफिक नियम पालना गर्न र सुरक्षित आवागमन सुनिश्चित गर्न अनुरोध गरेको छ। यदि भीड बढेमा डाइभर्सन नीति लागू गरी वैकल्पिक मार्गबाट सवारी व्यवस्थापन गरिने ट्राफिक प्रहरीको भनाई छ।
दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था आएमा मात्रै गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गर्ने प्रहरी कार्यालयले जानकारी दिएको छ ।
चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको छ तर भक्तजनको भिडभाड अत्यधिक भई सवारी आवागमनमा समस्या हुने अवस्था भएको खण्डमा मात्र डाईभर्सनको नीति अवलम्बन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाएको छ ।
तीनकुनेबाट सिना मङ्गलतर्फ,बौद्ध एरियाबाट गौरी घाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्र पार्क तर्फ आउने सम्पूर्ण मालवाहक सवारी साधनहरूलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ। वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुह्येश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।
साथै, गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातो पुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !