काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक भएको बताएका छन् । “ग्रामिण पर्यटन प्रवर्द्धनका लागि सिक्लेस महोत्सव”को नारा सहित कास्की जिल्लाको मादी गाउँपालिका १ स्थित सिग्लेस गाउँमा आयोजित माघे सङ्क्रान्ति मेला–२०८१ तथा सिक्लेस युवा क्लबको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको धारणा राखे ।
नेपालमा पर्यटनको अथाह सम्भावना रहेको बताउँदै उनले पर्यटनबाट देशको समग्र अर्थतन्त्र चलायमान बनाउन, रोजगारी सिर्जना गर्दै आर्थिक विकास गर्न सकिने बताए। उनले सिक्लेसमा नयाँ केवुलकार निर्माणको चरणमा रहेको र केवलकार निर्माणसंगै त्यस क्षेत्रको पर्यटनमा नयाँ आयाम थपिने समेत बताए ।“सिक्लेस एउटा आर्कषक पर्यटकीय गन्व्यका रुपमा देश तथा विदेशमा प्रख्यात नै छ । यद्यपि केवुलबार निर्माणले सिक्लेसमा नयाँ पर्यटकीय पूर्वाधार थपिनेछ । केवलकारको निर्माण यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा उल्लेखनीय योगदान पुर्याउने मात्र नभई समग्र क्षेत्रको पर्यटन प्रवर्द्धन, आर्थिक विकास र समृद्धिका लागि सहयोगी बन्ने छ । ” उनले भने। सिक्लेस देखि कोरीसम्म बन्ने नयाँ बन्ने केवुलकारको लागि प्रकृयागत कामहरु सकिईसकेको जानकारी दिए ।
यस्तै अध्यक्ष ढकालले पर्यटनको लागि स्थानीय कला, संस्कृतिको संरक्षण आवश्यक रहेको बताउँदै कला र संस्कृति संरक्षणका लागि स्थानीय युवा क्लबको भूमिकाको सराहना गर्दै निरन्तरताको लागि शुभकामना व्यक्त गरे ।मेलाको उद्घाटन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले पर्यटनलाई आर्थिक विकासको आधार रहेको उल्लेख गर्दै पूर्वाधार विकास तथा अन्य सहजीकरणका लागि सरकार सधैं तयार रहेको बताए ।
गुरुङ जातीको बाहुल्यता रहेको सिक्लेस गाउँ कास्कीको मादी गाउँपालिका–१ मा पर्दछ । पर्यटकीय गाउँ सिक्लेसबाट नजिकै अन्नपूर्ण र लमजुङ हिमश्रृंखला देख्न सकिन्छ । सिक्लेस पोखराबाट करिब ४० किमिको दूरीमा कास्कीको उत्तरपूर्वि भेगमा पर्दछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !