काठमाडौ । नेकपा एमालेले अर्थतन्त्रमा सुधार आएको प्रतिवेदन सार्वजनिक गरेको छ । एमालेका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका हुन्। पुस २१ गते सुरु भएको नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन भनिएको छ……
राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको छ । वर्तमान सरकारले अर्थतन्त्रलाई ओह्रालो लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा अगाडि बढाएको छ । पुँजीबजारमा सकारात्मक सुधार हुँदै आएको छ । गतः वर्षको यसै अवधिका तुलनामा राजस्वमा वृद्धि भएको छ, निर्यात तथा आयातमा सुधार भएको छ र पुँजीगत खर्चमा वृद्धि भएको छ । पहिलोपल्ट नेपालको सार्वभौम क्रेडिट रेटिङ सम्पन्न भएको छ र नेपालले दक्षिण एसियामा भारत पछिको दोस्रो स्थान सुरक्षित गरेको छ ।
विश्वव्यापी रुपमा नेपाल लगानीका लागि अनुकूल मुलुक हो भन्ने सन्देश गएको छ । मुलुकको अर्थतन्त्रकमा सुधारका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिएको छ । गतः वर्षदेखि सिर्जित भुक्तानी दायित्व लगभग पूरा गरिएको छ । करिब एक दर्जन, नियमावली, कार्यविधि, निर्देशिका लगायत पारित भई कार्यान्वयनमा आएका छन् । बिना अध्ययन साना आयोजनामा छरिएको बजेटलाई राष्ट्रिय गौरवका रणनीतिक आयोजनामा केन्द्रित गर्न, अनुशासित कार्यप्रणाली कार्यान्वयन गर्न मितव्ययितामा जोड दिइएको छ । गतः अर्थतन्त्र चलायमान हुने आधार तयार भएको छ ।
अर्थतन्त्रको वाह्य अवस्थामा तुलनात्मक रुपमा अनुकूल अवस्थामा छ । ब्याङ्कमा लगानीयोग्य पुँजीको दायरा र विप्रेषण आप्रवाह विस्तार भएको छ । ब्याजदर एकल बिन्दुमा झरेको छ । मूल्यवृद्धि र मुद्रास्फीति नियन्त्रणको सीमामा छ । विश्व ब्याङ्कले गतः वर्ष ३.९ प्रतिशतमा खुम्चिएको आर्थिक वृद्धिदर यस आर्थिक वर्षमा ५।१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । समग्रमा अर्थतन्त्र चलायमान हुने र आर्थिक क्रियाकलाप विस्तार हुने आधार तयार भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !