काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि निष्कासन गरेको ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन मिति थप गरेको छ । यस अघि पुस १ गतेसम्म निष्कासन मिति तय गरेको कम्पनीले १५ दिन अवधि थप गर्दै पुस १६ गतेसम्मको मिति कायम गरेको हो । यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गरिएको छ । बुक क्लोजको आधारमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद खरीदका लागि पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै एनएलजी इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरु र लक्ष्मी सनराइज बैंकका काठमाडौँ उपत्यका बाहिरका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था रहेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । अनलाईन आवेदनका लागि मेरो शेयर समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।
कम्पनीले तत्कालित कायम रहेको १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ चुक्तापूँजीको आधारमा ६६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव २०८० साल साउन १५ गते सम्पन्न विशेष साधारण सभाबाट पारित गरेको थियो ।सोही निर्णय बमोजिम कम्पनीले २०८० साल कात्तिक २ गते ६६ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन पेश गरेको थियो । बोर्डबाट स्वीकृति प्राप्त नहुँदै २०८० साल फागुन ३ गते सम्पन्न १८औं वार्षिक साधारण सभाबाट १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँको आधारमा ५ दशमलव ५० प्रतिशत बोनस शेयर पारित भई उक्त बोनस शेयर वितरणपछि १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ चुक्तापूँजी कायम भएको छ ।
भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पूर्व निर्णय पुनारावलोकन गरी हाल कायम चुक्तापूँजीको आधारमा ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको हो । सो निर्णयलाई कात्तिक ७ गते सम्पन्न विशेष साधारण सभाले स्वीकृति समेत प्रदान गरिसेकेको छ । यस कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ चुक्तापूँजी कायम गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यो हकप्रद विक्री पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !