काठमाडौँ । मुलुकले नयाँ संविधान पाएको ९ वर्ष पुरा गरेर दशौँ वर्षमा प्रवेश गर्दैछ । नयाँ संविधान २०७२ सालमा जारी भएको हो । मूलतः नागरिकलाई केन्द्रमा राखेर तिनको सर्वोपरी हुने गरी जारी भएको भनिएको यो संविधान दिवस मनाउन आम मानिसले कत्रो हर्कबढाइँ गर्नुपर्ने हो । तर ठिक विपरित संविधान दिवस मनाउने दिनको अघिल्लो दिन आज बुधबार सडकमा नागरिकले पाउनु विधी सास्ती पाएको र तामझाम गर्ने सरकारलाई धारे हात लगाउँदै आक्रोशित बनेको पो भेटियो । हुनपनि संविधान दिवसको दिन आयोजना गर्ने संस्कृतिक कार्यक्रमका लागि स्टेज निर्माण गर्न १ दिन अगाडीनै हजारौँ सर्वसाधारण यात्रु र सवारीसाधन आवतजावत गर्ने सडक ठप्प पार्ने सरकारी निर्णयनै सरासर गलत हो ।
टट्याउँदो उखरमाउलो घाममा घण्टौँ सवारी जाममा परेका प्रत्येक मानिसका आँखामा रोष र आक्रोश देखिन्थ्यो । यस्तैमा ट्राफिक प्रहरीसँग गलफती गर्दै गरेका बानियाटारका बिमलजंग ठकुरी भेटिए । उनी भन्दै थिए बिना कुनै जानकारी सर्वसाधारणलाई सडकमा हिँड्न बन्देज लगाउने सरकारी रवैयाले संविधान दिवस मनाउने उत्साह कसरी पलाउँछ । उनको रोष प्रकट हुनुको पछाडी जायज कारण रहेछ बुझ्दै जाँदा थाहा भयो ।
बुधबार एकाएक श्रीमतीलाई सुत्केरी व्यथाले गाह्रो बनाउन थालेपछि वीर अस्पतालमा लैजान मोटरसाइकलमा हालेर घरबाट हुइँकिएका ठकुरी लैनचौर केशरमहल हुँदै छिटो पुग्ने बाटो खोज्दै दरबारमार्ग प्रवेश गर्ने क्रममा थिए । बिचमा पुग्नै नपाउँदै ट्राफिक प्रहरीले रोकिहाले । उनी भोलि हुने कार्यक्रमका लागि दरबारमार्ग प्रवेश रोक लगाएकोबारे बेखबर थिए । मोटरसाइकल फर्काउन खोजे जामले कतै खाली ठाउँ थिएन । बल्लतल्ल दुई घण्टाको जाम छिचोल्दै श्रीमतीलाई वीर अस्पताल पुर्याउन भ्याए ।
अर्का एक व्यक्ति ड्युटीमा रहेका प्रहरीसँग भनाभन गरिरहेको अवस्थामा भेटिन्छन् । उनी भनिरहेका थिए, नागरिकलाई सास्ती दिएर मनाएको संविधान दिवस मनाउनुको के अर्थ ? उनी थप्छन्, ‘संविधानले निमुखा जनतालाई के दियो ? जनताले के पाए ? यसरी तामझाम र प्रचारप्रसार गर्न लाज लाग्नु पर्ने होइन र ?’
यी प्रतिनिधि पात्र मात्र भए । कोही ट्राफिक प्रहरीसँग झगडा गरिरहेका भेटिन्थे त कोही राज्यलाई आक्रोश पोखिरहेका । सवारी डाइभर्सन हुँदा त्यसको प्रभाव धेरै टाढासम्म परेको छ । १०/१५ मिनेटको बाटो छिचोल्न घन्टौं जाम बस्नुपर्ने आम नागरिकको समस्या बनेको छ ।
ड्युटीमा खटिएका ट्राफिक प्रहरी नागरिकको आक्रोसबाट हैरान देखिन्थे । ‘हाम्रो पनि ड्युटी हो । माथिबाट जे आदेश आउँछ त्यहीँ गर्नैपर्छ । नागरिक हामीमाथि खनिन्छन्’, एक ट्राफिक प्रहरीले भने ।
दरबारमार्ग सडक अवरुद्ध हुँदा बानेश्वर, माइतिघर, नारायण गोपाल, उत्तर ढोका, गैरीधारा, हात्तिसार, पशुपति, दिल्लीबजार सडक, कान्तिपथ लगायतमा क्षेत्रमा जाम परेको छ । त्यस्तै त्रिपुरेश्वर, थापाथली, माइतीघर, टुँडिखेल आसपास पनि जाम छ ।
केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमल तर्फ, जयनेपाल चोकबाट दक्षिणगेट तर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटी तर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई घण्टाघर तर्फ डाइभर्सन गरिएको छ ।
सरकारले असोज भोलि ३ गतेको संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडीखेलमा आयोजना गर्ने र सोही दिन साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको छ । कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायत कलाकारसहित चर्चित ब्याण्डहरु कुटुम्ब र एलिमेन्ट्सले समेत प्रस्तुति दिने बताइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !