काठमाडौँ । सार्वजनिक लेखा समितिले एनसेलको सेयर स्वामित्व हस्तान्तरण प्रक्रिया नै रोक्न निर्देशन दिएको छ । प्रतिनिधि सभाका दुई विषयगत समितिले दूरसञ्चार सेवाप्रदायक एनसेलको सेयर खरिद बिक्री प्रक्रियाको छानबिन थालेसँगै यस्तो निर्देशन दिएका हुन् । अर्थ समितिले खरिद बिक्रीका सम्पूर्ण कागजात १५ दिनभित्र उपलब्ध गराउन दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
लेखा समितिले सेयर खरिद बिक्रीमा कानुनी व्यवस्था पालना नभएको, वास्तविक मूल्य कायम नभएको, पुँजीगत लाभकरका विषयमा पनि प्रश्न उठेकोतर्फ प्रश्न उठाएको छ । छ वर्षपछि कानुनतः नेपाल सरकारको स्वामित्वमा आउने अवस्थालाई हालको खरिद बिक्रीले अनिश्चयमा धकेलेको पनि लेखा समितिको ठहर छ । खरिद बिक्रीका क्रममा नेपालमा लगानीको वातावरण नरहेको भन्ने सन्देशले संशय प्रदान गरेको पनि समितिले निर्णयमा उल्लेख गरेको छ ।
३० दिनभित्र सेयर खरिद प्रक्रियाको छानबिन गर्न र उक्त अवधिसम्म हालको प्रक्रियालाई यथास्थितिमा राख्न पनि समितिले निर्देशन दिएको छ । नेपालमा लगानीको वातावरण नभएको भन्ने आजियटाको आरोपबारे सरकारको धारणा दुई दिनभित्र औपचारिक रूपमा सार्वजनिक गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । सरकारले खरिद बिक्रीको छानबिन अगाडि बढाउने जानकारी यसअघि नै दिइसकेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !