काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गते आजदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेकोे छ । कम्पनीले असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि १५० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेकाले असार ३१ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद खरीद गर्न योग्य भएका हुन ।
कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रूपयाँको आधारमा प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । १५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर बी माइनस रेटिङग प्रदान गरेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण कम्पनीले सार्वजनिक गरेको छैन् । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनी २५ लाख ७२ हजार रूपैयाँभन्दा बढी नाफामा रहेको छ । उक्त अवधिसम्म कम्पनीको विद्युत विक्रीबाट १४ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको थियो । तेस्रो त्रैमाससम्म १ अर्ब ३२ करोड रूपैयाँभन्दा बढी दायित्व रहेको कम्पनीको सम्पत्ति भने १ अर्ब ८८ करोड रूपैयाँभन्दा बढी छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ४३ पैसा र प्रतिशेयर नेटवर्थ ६९ रूपैयाँ छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !