काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्म ९८ अर्ब ८ करोड रुपैयाँ ऋण थप भएको छ ।
सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयका अनुसार चालु आर्थिक वर्षको सुरुमा २२ खर्ब ९९ अर्ब सार्वजनिक ऋण रहेकोमा १० महिनामा ९८ अर्ब ८ करोड रुपैयाँ थप भएको छ । यो भनेको चालु वर्ष लिएको ऋण र भुक्तानी गरेको ऋण घटाएर आएको रकम हो ।
यो सँगै देशको सार्वजनिक ऋण २३ खर्ब ९७ अर्ब पुगेको छ । चैत महिनाको तुलनामा भने वैशाखमा ११ अर्ब ६४ करोड रुपैयाँ ऋण थपिएको हो । कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४२.२ प्रतिशत पुगेको छ ।
विज्ञहरूले नेपालको हालको ऋण आत्तिनुपर्ने अवस्थामा नरहेको बताएका छन् । यद्यपि ऋणको सदुपयोगितामा भने उनीहरूले प्रश्न उठाउँदै आएका छन् ।
अहिले देशमा ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक ऋण छ भने १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ बाह्य ऋण छ । यो अवधिमा सरकारले १ खर्ब ६६ अर्ब ५५ करोड रुपैयाँ ऋण भुक्तानी गरिसकेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !