गोरखा । शहीद लखन गाउँपालिकाको वडानम्बर ७ पालिकाकै उत्कृष्ट वडा बनेको छ । विभिन्न मापदण्डलाई आधार मानेर पालिकाले गरेको आन्तरिक स्वःमूल्याकंनको आधारमा उक्त वडा उत्कृष्ट बनेको हो ।पालिकाले विभिन्न मापदण्ड बनाएर यो वर्षबाट वडाहरुको कामको मूल्याकंन सुरु गरेको हो ।
योजना छनोट, योजना सम्झौता, योजना रकमान्तर, भुक्तानी, सेवा प्रवाह, राजस्व संकलन, बेरुजु, सुशासनलगायतका मापदण्ड तयार गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । ‘लिजाको जस्तै मापदण्ड बनाएका छौ,’ उनले भने, ‘सोही मापदण्ड अनुसार वडाले गरेको कार्यसम्पादनको आधारमा अंकभार प्रदान गर्छौं ।’
काम गर्ने जोश जागर बढाउँदै वडाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उदेश्यले यो कार्यक्रम संचालन गरिएको उनले बताए ।
आगामी वर्षहरुमा पनि यो कार्यक्रमले निरन्तरता पाउने उनको भनाइ छ । ‘हामी समीक्षा बैठक बसेर मूल्याकंनका केही इण्डिकेटरहरुलाई पुनः मूल्याकंन पनि गर्न सक्छौं,’ उनले भने ।
यो कार्यक्रमले वडाहरुलाई कार्यसम्पादनमा थप हौसला प्रदान हुने उनको अपेक्षा छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !