काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुको प्रश्नको जवाफ दिँदै ‘बढ्दो महंगी नियन्त्रण गर’ भन्ने नारा सधैं लोकप्रिय नारा बनाइ हिँड्ने गरिएको बताएका छन् । उनले गत वर्षको मुद्रास्फितीलाई तुलना गर्न सांसदहरुलाई आग्रह गर्दै भने, महंगी घटिरहेको बेलामा पनि त्यो नारा चाहिँ लोकप्रिय नै हुन्छ । त्यसैले यस्ता कुराहरुमा प्रश्नलाई लोकप्रिय बनाउन होइन, तुलनात्मक अध्ययन गरेर नागरिक जीवनमा सहजता ल्याउन लाग्नु पर्छ । यसका लागि महंगीको गत वर्षको दरसँग तुलना गरेर हेर्नु उपयुक्त हुन्छ ।
उनले अगाडि थपे, चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा औसत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ जबकी, अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत रहेको थियो। मूल्य वृद्धिको सीमालाई बाञ्छित सीमाभित्र राख्न चालु आर्थिक वर्षको लागि सजगतापूर्ण लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिईएको पनि बताए । साथै, अनिवार्य नगद अनुपात र बैंक दरलाई समेत समायोजन गरिएको उनको भनाइृ थियो ।
प्रधानमन्त्रीले आगामी वर्षहरुमा पनि अत्यावश्यक वस्तुहरूको भन्सार दर घटाउने तथा महँगीमा प्रत्यक्ष असर गर्ने वस्तुहरूमा कर छुट प्रदान गर्ने नीतिलाई निरन्तरता दिइने बताए । कृषि उत्पादन वृद्धिका लागि अनुदान र सहुलियत ऋण प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ। यसबाट खाद्य आपूर्तिमा स्थिरता, कृषिजन्य उपजको उत्पादनमा वृद्धि, कृषिजन्य उत्पादनको आयात व्यवस्थापन साथै मूल्य स्थिरता कायम गर्न समेत सहयोग पुग्नेछ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !