काठमाडौ । नेपाल विद्युत प्राधिकरण विगत ८ वर्षदेखि लगातार नाफामा गएको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७२/०७३ मा ८ अर्ब ८९ करोड घाटा ब्यहोरोको प्राधिकरण त्यसपछिका वर्षहरुमा भने लगातार नाफामा गएको छ । हरेक वर्षजसो नाफा बृद्धि हुँदै गएको देखिएको छ । यो आठ वर्षमा सबैभन्दा बढी नाफा गत आवमा भएको थियो । प्राधिकरणले त्यतिबेला १४ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो ।
आफूले कमाएको नाफाबाट प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार एवम् सुदृढीकरण र विद्युतीकरणतर्फका आयोजनाहरुमा लगानी गरिरहेको छ । विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजनाहरु लगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ ।
कुन वर्ष कति नाफा ?
यता, चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो ६ महिनामा पनि ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ । सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ ।
यसरी, चालू आवको साउनदेखि पुस मसान्तसम्ममा प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ । प्राधिकरणले चालु आवको ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा प्राधिकरणका सहायक तथा सम्वद्ध कम्पनीहरुवाट १ अर्व १५ करोड र अन्य निजी उत्पादक कम्पनीहरुवाट ५ अर्व १६ करोड गरी जम्मा ६ अर्ब ३१ करोड युनिट विद्युत खरिद गरिएको छ । खरिद गरिएको विद्युत्का लागि ३४ अर्ब ८४ करोड रुपैयाँ रकम भुक्तानी भएको छ ।
भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ । गत साउनदेखि पुससम्ममा १ अर्व ७७ करोड १८ लाख युनिट विद्युत भारततर्फ निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ ।
यस अवधिमा सरकार र वैदेशिक सहायताबाट प्राप्त विकास बजेटअन्तर्गत विभिन्न आयोजना र विद्युतीकरणमा प्राधिकरणकातर्फवाट १३ अर्व ३५ करोड रुपैयाँ खर्च गरिएको छ । वैदेशिक सहायता सोझै भुत्तानीतर्फ १० अर्व ४९ करोड रुपैयाँ खर्च भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !