काठमाडौ । सरकारले नेपाली उत्पादनलाई बढावा गर्न सबै सरकारी निकायमा नेपाली उत्पादन अनिवार्य गर्न लिएको नीति हालसम्म पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । २ वर्षअघि मुलुकले ठुलो व्यापार घाटा व्यहोरिईरहेको भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन हुने गरी सरकारी निकायबाटै स्वदेशी उत्पादनको प्रयोग गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी निकायलाई सर्कुलर नै गरेको थियो ।
स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्रालयले सर्कुलर जारी गर्दै सबै तहका सरकार, मन्त्रालय, आयोग र सबै सार्वजनिक कार्यालयहरुलाई स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्न अनुरोध गरेको थियो । तर सरकारी निकाय मात्र होइन सिंहदरबारकै मन्त्रालयले पनि यसको प्रयोगलाई आनाकानी गरिरहेको बेला उद्योग मन्त्रालयले भने नेपाली उत्पादनले मन्त्रालयका कोठाहरु सजाएको छ । विशेष गरी उद्योग मन्त्री दामोदर भण्डारीको सचिवालय नेपाली उत्पादनले सजिएको छ ।
बासको सोफा, कुर्सी तथा टेबल प्रयोग गरिएको छ । सोफाको चकटी ढाकाको बनाइएको छ भने पर्दा पनि ढाकाकै बनाइएको छ । यस्तै बाँसको पर्दा पनि केही ढोकामा लगाइएको देख्न सकिन्छ ।
यता सरकारले कर्मचारीले स्वदेशमै उत्पादित पोशाक लगाउनु पर्ने व्यवस्था सहितको प्रावधान समेटेर ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका २०८१’ समेत गत पुषमा ल्याएको छ । तर यसको कार्यान्वयन भने हुन सकेको छैन ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !