काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका नेता कार्यकर्ताहरुलाई अनुशासित बनाउन १३ बुँदे कडा आचारसंहिता जारी गरेको छ ।
आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले १३ बुँदे आचारसंहिता जारी गर्दै पार्टीका नेता कार्यकर्ताहरुलाई उच्च नैतिक चरित्र कायम गर्न निर्देशन दिएका हुन् ।
कम्युनिष्ट नैतिकताको मूल पक्ष व्यक्तिवादलाई विस्तापित गर्दै सामूहिकतावाद स्थापित गर्नु रहेको भन्दै निजी स्वार्थ परित्याग गरी सामूहिक हित एवं राष्ट्र, राष्ट्रियता एवं देश र जनताका सेवामा समर्पित हुन् आग्रह समेत गरेका छन् ।
पार्टीको आचारसंहितामा महिलाप्रति एकनिष्ठताको व्यवहार गर्न समेत आग्रह गरेका छन् । साथै पार्टीभित्र शारीरिक सम्बन्धलाई लिएर निम्तिन सक्ने जोखिमलाई कम गर्न समेत एकीकृत समाजवादीले नयाँ नियम लागु गरेको छ ।
‘परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानिन्छ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन । महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नुपर्दछ,’ आचारसंहितामा भनिएको छ ।
त्यतिमात्रै होइन नेता कार्यकर्ताहरुलाई अध्ययन गरेर मात्रै आफ्ना धारणा व्यक्त गर्न निर्देश गरिएको छ । पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यहरुले स्वतन्त्रतापूर्वक आफ्नो धारणा राख्न पाउने भए पनि पार्टीको निर्णयविरुद्ध हुने कुनै पनि अभिव्यक्ति दिन बन्देज लगाइएको छ ।
‘पार्टीका आन्तरिक छलफलमा हरेक सदस्यले स्वतन्त्रतापूर्वक पार्टीका हरेक विषयमा बोल्न र मत राख्न पाइन्छ तर पार्टी निर्णयकाविरुद्ध आफ्नो कमिटीभन्दा बाहिर गएर बोल्न र मत राख्न पाइँदैन । आफ्नो फरक मत वा धारणा भए पनि पार्टी निर्णयको अवज्ञा गर्न पाइँदैन । पार्टी निर्णय लागू गर्नुपर्दछ । अरुका विचारको सम्मान गर्नुपर्दछ,’ आचारसंहितामा भनिएको छ ।
त्यतिमात्र होइन पार्टीको विधानले नै व्यवस्था गरेको आचारसंहिता पालना गर्न पार्टीका सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको छ । तर आचारसंहिता पालना नगर्नेहरुले विधान पालना नगरेको ठहर्ने भन्दै कारबाही गरिने चेतावनी समेत एकीकृत समाजवादीले दिएको छ ।
पार्टीको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकले पारित गरेपछि मात्रै उक्त आचारसंहिता लागु हुने बताइएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !