काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआइ)ले ५ वर्षपछि पहिलोपटक ब्याजदर घटाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सका अनुसार गभर्नर सञ्जय मल्होत्राको नेतृत्वमा रहेको मौद्रिक नीति समितिले ०.२५ प्रतिशत विन्दुले रिपो रेट कटौती गर्दै ६.२५ प्रतिशतमा झारेको छ । आर्थिक वृद्धिको गति सुस्त रहेका कारण व्याजदर कटौति गरिएको समाचारमा उल्लेख छ ।
हाल भारतको आर्थिक वृद्धिदर ६.४ प्रतिशतमा रहे पनि कमजोर उत्पादन क्षेत्र र सुस्त लगानीका कारण यसमा प्रभाव परेको छ । आगामी आर्थिक वर्षका लागि वृद्धिदर ६.३ प्रतिशतदेखि ६.८ प्रतिशतको दायरामा रहने अनुमान गरिएको छ ।
आरबीआइले मुद्रास्फीति घट्दै गएको संकेत गर्दै ब्याजदर कटौती गर्ने निर्णय लिएको हो । डिसेम्बर महिनामा खुद्रा मुद्रास्फीति घटेर ५.२२ प्रतिशतमा झरेको थियो । जसले ब्याजदर घटाउनका लागि बैंकलाई ठाउँ दिएको हो । ब्याजदर कटौतीको घोषणापछि वित्तीय बजारमा मिश्रित प्रतिक्रिया देखिएको छ । बन्ड प्रतिफलमा वृद्धि भएको छ भने भारतीय रुपैयाँ र सेयर बजार परिसूचकहरुमा हल्का सुधार देखिएको छ ।
आरबीआईका गभर्नर सञ्जय मल्होत्राको नेतृत्वमा आएको यो निर्णय नीतिगत दिशामा परिवर्तनको संकेत मानिएको छ । विश्लेषकहरुका अनुसार यो कटौती आगामी महिनाहरुमा थप मौद्रिक सहजताको संकेत हुन सक्छ । केन्द्रीय बैंकले आर्थिक वृद्धिलाई प्राथमिकता दिने संकेत गरेको छ, जसले लगानीकर्ताहरुका लागि सकारात्मक संकेत पुर्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !