काठमाडौ । देशको अर्थतन्त्र सहज अवस्थामा नभएको टिप्पणी भइरहेको बेला सरकारले धमाधम अध्यादेश मार्फत कानुनहरु ल्याइरहेको छ । कतिपयले यसलाई सरकारले अर्थतन्त्रको तथा व्यवसायको आवश्यकता बुझेर चालेको कदम भनेका छन भने कतिपयले संसद छलेर अध्यादेश ल्याउन नहुँने तर्क गरेका छन् ।
अहिले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक अर्थतन्त्र अझै पनि सकस छ । बैंकमा पर्याप्त तरलता छ तर ऋण लिनेहरुमा विश्वास छैन । अर्कोतर्फ अर्थतन्त्रमा मन्दी ल्याउने एउटा कारण मानिएको घरजग्गा व्यवसायमा पछिल्लो महिना केही सुधार देखिएपनि त्यसले निरन्तरता पाउँनेमा व्यवासायीहरु नै ढुक्क छैनन । एउटा व्यवसायीको नजरमा देशको अर्थतन्त्रको वर्तमान अवस्था, अध्यादेशले दिएको सन्देश, घरजग्गा कारोबार लगायतका विषयमा केन्द्रित रहेर बाणिज्यपोष्ट डटकमले नेपाल चेम्बरअफ कमर्शका बरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रासँग गरेको कुराकानीको सम्पादित अंश :
तपाई लामो समयदेखि सक्रिय व्यवसाय गरेर बस्नु भएको छ । तपाईले देशको अर्थतन्त्र र व्यावसायिक वातावरणलाई नजिकबाट नियालिरहनु भएको हिसाबले देशको अर्थतन्त्रको अहिलेको अवस्थालाई कसरी बुझ्नु हुन्छ ?
अहिले देशको अर्थतन्त्र सहज अवस्थामा छैन । यद्यपि सरकारले अध्यादेशमार्फत पाँचवटा कानुन संसोधन गरेको हुनाले केही सहज होलाकी भन्ने हामी व्यवसायीको अनुमान छ । व्यवसायीले बर्षौदेखि माग गरिरहेको विषय सरकारले अध्यादेशमार्फत ल्याएको छ । पहिला पहिला व्यवसायी माग गरिरहने तर सरकार नसुन्ने जस्तो भएको बेला अध्यादेशले एक खालको आशा सृजना गरेको छ । यसले सरकार पनि अहिलेको अर्थतन्त्रलाई हेरेर चिन्तित छ, गम्भिर छ भन्ने सन्देश दिएको छ ।
देशको अर्थतन्त्रको अहिलेको अवस्था खराब छ भन्नुभयो, कुन आधारमा खराब भन्नुभएको हो ?
अर्थतन्त्र खराब हुनुको लामो कारण छ । म शुरुबाट भन्न चाहन्छु । हाम्रो देशको अर्थतन्त्रको एउटा मेरुदण्ड घरजग्गा व्यवसाय हो । जब यस व्यवसायमा मन्दी आयो त्यसकोे ‘चेन इफेक्ट’ सबैमा पर्न गयो । मेरो पनि घरजग्गामा ठुलो लगानी छ ।करिब ३ वर्ष अघि भुमि सुधारमन्त्री शशि श्रेष्ठको पालामा भुमि बर्गीकरण नसकिन्जेलसम्म कित्ताकाँट रोक्नुभयो । योजना अनुमति लिइसकेकाको पनि रोकियो । यसले घरजग्गा कारोबार ठप्प भयो जसको असर राज्यको ढुकुटीमा पनि देखियो । राज्यले पाउँने राजस्वमा निकै कमी आयो । त्यसको १० महिनापछि कित्ताकाँट खुल्यो तर कोभिड आइसकेको थियो । त्यतिबेलासम्म यो व्यवसाय निकै बिग्रिसकेको थियो । कोभिड पछि राष्ट्र बैंकले ब्याजदर घटाउँदा राहत भएपनि घरजग्गा कारोबारमा मन्दी आइसकेको थियो ।
त्यसको लगत्तै युक्रेन युद्ध शुरु भयो र यसले कच्चा पदार्थको भाउँ बढ्यो । नेपालमा डलर सर्टेज (विदेशी मुद्राको अभाव) शुरु भयो । त्यति नै बेला राज्यले १० वस्तुको आयात रोकेर गम्भीर गल्ती गर्यो । आयात प्रतिबन्ध भएपनि ति वस्तु नेपाली बजारमा छ्यापछ्याप्ती पाइने अवस्था भयो । बैधानिक च्यानलबाट ल्याउन प्रतिबन्ध लगाएको ती वस्तु नेपाली बजारमा सहजै पाउँनु भनेको कालाबजारी मौलाउँनु हो । भन्सार विन्दुबाट उठ्ने राजस्व कम भयो, तस्करी मौलायो अनि अर्थतन्त्रमा ठुलो धक्का लाग्यो । अर्कोतर्फ घरजग्गा कारोबार र सेयर बजारलाई राज्यले हेर्ने दृष्टिकोण फरक भयो । त्यस्तै सहकारीले पनि आफैले नै जग्गामा लगानी गरे । जग्गामा मन्दी आयो । भन्नेवित्तिकै जग्गा नबिक्ने भएपछि सहकारीमा बचतकर्ताको पैसा जाम भयो । सहकारीले चाहेको बेला घरजग्गा विक्रि गर्न नसकेपछि उक्त क्षेत्रनै संकटमा पर्यो ।
घरजग्गा कारोबार भनेको सबै उद्योगलाई पालेको उद्योग हो । यसले सिमेन्ट, इटा, रंग, म्यानपावर सबैलाई पालेको छ । आज देशको अवस्था राम्रो छैन । कित्ताकाट रोक्दा करिब २ खर्ब राजस्व गुमेको छ र ठेकेदारको पैसा तिर्न सरकार नसक्ने भएको छ । यहि आधारलाई लिएर अर्थतन्त्र बिग्रेको छ भन्न सकिन्छ ।
अर्थतन्त्र बिग्रनुको प्रमुख कारण जग्गा कित्ताकाँट थियो भने कित्ताकाँट खुलेपछि अर्थतन्त्रमा केही उत्साह देखिन शुरु गर्नुपर्ने होइन र ?
मैले अघि पनि भने की कित्ताकाँट खुल्नेबेलासम्म घरजग्गा कारोबार मन्दीमा गइसकेको थियो । कित्ताकाँट खुल्नु भन्दा पहिला सहकारी बिग्रिसकेको थियो । अहिले नेपालको जनसंख्याको बृद्धिदर ०.९२ प्रतिशत छ । यो भनेको २ लाख ७० हजार हो । विदेशमा काम गर्न अथवा पढ्न बार्षिक करिब १० लाख नेपाली जान्छन् । खाडी मुलुकबाट ति मध्ये ७ लाख फर्किन्छन्, ३ लाख फर्किदैनन । जनसंख्या बृद्धिदर भन्दा बाहिर जाने बृद्धिदर बढी भएकै कारण आज मोबाइल फोन, घडी, लता कपडा लगायतको बिक्रि घटेको छ । त्यतिमात्र होइन मानिसलाई नभइ नहुने आधारभुत आवश्यकताको खाद्यान्नको बिक्रि समेत घटेको छ । अहिले त खाडी मुलुक गएकाहरु त्यतैबाट यूरोपको भिसा लगाएर जाने चलन बढेको छ ।यसै कारण समग्र अर्थतन्त्र अप्ठेरो अवस्थामा पुगेको छ । अब सुचनाप्रविधि (आइटि) वैदेशिक लगानी तथा कालाबजारी जस्ता विषयलाई अध्यादेशले समेटेको छ । यसले सुधार होलाकी भन्ने आश पनि छ ।
तपाईले सबै कुरा बिग्रिसकेको छ, घरजग्गामा उत्साह छैन भनिरहदा पुष महिनाको घरजग्गा कारोबारको आँकडाले त असार यताकै बढी कारोबार भएको देखाएको छ नी ?
हो तपाइले भनेजस्तै अहिले काठमाडौमा केही चहलपहल देखिएको छ । मैले सबै सकिसक्यो अब बन्दैन भनेको पनि हैन । अत्यधिक बैंकको ऋण लिएर लगानी गरेका अरु व्यापार भनेको स्लोडाउन हुन्छ । तर रियलस्टेट स्लोडाउन हैन ठप्पै हुन्छ । तिन– तीन महिनामा ब्याज तिर्न पैसा हुदैन । घरजग्गा किन्नेहरुपनि अझ घट्छ की भनेर नकिनेर बसेका छन् । मन्दी आएको ३ बर्ष भइसक्यो । यसअघि २०५० सालमा पनि मन्दी आएको थियो तर त्यो २ वर्षपछि हट्यो । ०६७ सालमा पनि २ वर्षको मन्दी आयो । अहिले तीनवर्ष भइसक्यो । मलाई के विश्वास छ भने धेरै भए अब एक बर्ष होला नत्र अब विस्तारै घरजग्गा कारोबार बढ्छ । अहिले घरजग्गा किन्ने सही समय हो । घरजग्गाको मूल्य यो. भन्दा घट्नेवाला छैन । विस्तारै मूल्य बढ्ला बिक्रि बढेको छ । सप्लाइ बढी छ, डिमाण्ड कम भयो ।
तपाई व्यवसायीहरु कुनै बेला बढी ब्याज भयो भनेर रोइलो गर्ने अहिले ब्याजदर न्युन विन्दुमा आएको बेला बैंकमा ऋण लिन नजाने पनि देखियो । आखिर तपाईहरु ऋण लिन किन हतोत्साहित हुनुभयो ?
हो, हामी आफैले एकल अंकमा बैंकको ब्याजदर आउनुपर्छ भनेर निकै माग गर्यौ । ६ महिना अघिसम्म १५ प्रतिशतसम्म ब्याज तिर्यौ । त्यतिधेरै ब्याजमा ऋण लिएर कुनै पनि काम सफल हुदैन पनि भन्यौ । अहिले ब्याजदर एकल अंकमा आइसकेको छ तर हामीमा आत्मविश्वास छैन । नयाँ व्यवसाय गर्न चाहनेहरु बैंकबाट ऋण लिएर व्यवसाय गर्दा डुब्लाकी भनेर जोखिम लिन चाहिरहनु भएको छैन । यस्तै व्यवसाय गरिरहेकाहरु जसलाई कर्जाको खाँचो छ तर उनीहरुलाई बैंकको चालुपुँजी कर्जाका कारण ऋण प्रवाहमा समस्या भएको छ ।
आइएमएस समुहको कुरा गर्नुहुन्छ भने अहिले हामीले नयाँ कुनै पनि काम सोचेका छैनौ । त्यतिराम्रो प्रतिफल नदिने काम बन्द गरेर अलि राम्रो गर्न सकेको काम मात्र अगाडी बढाउँने सोचेका छौ । जसरी राज्यले अध्यादेशमार्फत राहत दिन कोशिस गर्यो त्यसरी नै नेपाल राष्ट्र बैंक लचिलो भयो भने सब ठिक हुन्छ । हाम्रोमा तालमेल मिलेको छैन ।
अहिलेको अध्यादेशमा धेरै ठुलो राहत घरजग्गा व्यवसायीले महशुस गरेका छन् । राज्यले नै घर बनाएर बेच्न चाहन्छन् । प्लानिङ पर्मिट लिएर घर बनाएर मान्छे बसे तर उनीहरुले आधा पैसा दिए । नामसारी हुन सकेन । घरकिन्नेहरुले नामसारी नभएसम्म पैसा तिरेनन । व्यवसायीको हालत खराब भयो । अहिलेको अध्यानदेशले त्यसलाई राहत दिन्छ । प्लानिङ गरेर घर बनाएकालाई एक पटक स्विकृति दिने भन्ने अध्यादेशमा छ । नियमावली पनि चाडै आउनुपर्छ । लगानी सम्मेलन अघि पनि कानुनमा परिवर्तन भएको थियो । आज ५ महिना भयो नियमावली आएको छैन । यो पनि त्यस्तै नहोस ।
नेपालको अर्थतन्त्रको टाउको दुखाइ भनेको उच्च आयात हो । तपाई व्यवासयीहरु बढी व्यापारी हुनु भयो उत्पादन तर्फ लाग्नु भएन भन्ने आरोप छ नी ?
यो भनाईलाई म खण्डन गर्न चाहन्छु । हाम्रो जस्तो देशमा उत्पादनको रटान मात्र लगाएर हुँदैन जहाँ कच्चा पदार्थ छैन सबै आयात गर्नुपर्छ । उत्पादन र निकासी चाइना जस्तो देशले गर्न सक्छ । जुन वस्तु पनि उनीहरुले उत्पादन गरेर निर्यात गर्न सक्छ । अमेरिकाले चाइनाबाट आयात गर्छ । उसले लागत बढी हुन्छ भनेर आयात गर्छ । नेपालको कुरा गर्दा सबैले उत्पादन गरौ भन्छन । तर ति उत्पादनका लागि चाहिने कच्चा पदार्थ खै ? सिमेन्ट चाहि उत्पादन गर्न सक्छौ । यो सम्भव छ । यस्तै खालका बस्तु जुन हाम्रो देशमा कच्चा पदार्थ उपलब्धता भएको छ त्यसमा मात्र उत्पादन गर्न सकिन्छ । कच्चा पदार्थ नेपालमा ल्याएर उत्पादन गरेर निर्यात गर्न असम्भव छ । हामी उर्जा तथा कृषिमा ध्यान दिउ । यसैगरी जडिबुटीमा ध्यान दिउ । केही आइटम उत्पादन गरेर आयात रोक्नुपनि ठुलो कुरा हो ।
नेपालमै सम्भव भएको उर्जा तथा कृषिको उत्पादन बढाउँने तर्फ तपाईहरुको संस्था (नेपाल चेम्बरअफ कमर्श) ले के योजना बनाएको छ ?
कृषिमा वैदेशिक लगानी ल्याउन खोज्यौ ती लगानी आउन तयारी पनि भए तर त्यसलाई हदबन्दीले रोक्यो । संसारमा कतैपनि यस्तो हदबनदी छैन । विदेशीहरु नेपालमा आएर अनुसन्धान गरे । विदेशीले जग्गा किनेर लगानी गर्दा हदबन्दी ११ बिगाहमा कति चाहि कृषि खेती गर्ने ? उद्योग सञ्चालनमा हदबन्दी लगाउँनु हुन्न । कृषि उतपादन बढाउँन चाहन्छौ भने २/४ सय बिगाह चाहिन्छ । अनिमात्र उत्पादन गर्नसक्छ । कृषिमा केन्द्रित भयौ भने विभिन्न खालका फलफुल लगाउन सक्छौ । स्कोप छ तर नीति वाधा छ ।
तपाईको आइएमएस समुहले उत्पादन बढाउँन के गरिरहेको छ ?
कोभिड पहिला आइएमएस समुह कृषिमा जाने भनेर तयारी गर्यौ तर कोरोनाले सकिएन । अहिले सुनसरीमा २५ विगाहमा कागती खेती शुरु गरेको छु । यो खेती चौथो वर्षमा छ । अब केही आउटपुट देला । भोली कृषि चलेन भने जग्गा बेच्न खोज्दा हदबन्दी लाग्छ । कृषिमा अगाडी बढ्ने सोच छ ।आइएमएसको जलविद्युतमा लगानी छ । टाइम्स इनर्जीले साहस उर्जासँग मिलेर काम गरेको छ । नेपालको नीजि क्षेत्रले उर्जामा गरेको लगानीमध्ये यो ३४१ मेगावाटको ठुलो हो । दोस्रो अपर भेरी ३२५ मेगावाट छ । यसमा चाहि आइएमएसले बढी सेयर लिएर काम गर्न चाहेको छ । उर्जामा निर्यातमुखी व्यापारमा जान थालेका छौ ।
नेपालको व्यावसायिक वाताबरण बनाउँन र अर्थतन्त्र तिव्र गतिमा सुधार्न के गर्नुपर्ला ?
सबैभन्दा पहिला नेपाली बच्नु पर्यो, नेपाल बच्नुपर्यो अनिमात्र अरु कुरा आउँछ अहिले नेपाल ग्रेलिस्टमा परिसक्यो भनेर डर देखाइएको छ । नेपाल ग्रेलिस्टमा पर्छ भन्ने डरले केहीपनि खुकुलो नहुने हो भने व्यापारी डुब्छन । २० करोड पर्नेे जग्गा अहिले बैंकबाट लिलामिमा १० करोडमा पाइरहेको छ । सम्पत्ति शुद्धिकरण मैले बुझेको र संसारले बुझेको एउटा छ तर हाम्रो राज्यले बुझेको अर्को छ । कालोधनलाई सेतो बनाउँनेलाई सम्पत्ति शुद्धिकरण भनिन्छ । नेपालमा कोही मानिससँग कर तिरेको १० करोड रुपैयाँ छ उसले उक्त रकम कसैलाई सापट दियो र केही समयपछि फिर्ता भयो । यसरी ब्याजमा सापट दिने र फिर्ता पाउने हुँदा उक्त रकम केही वर्षपछि बढेर मानौ सय करोड पुग्यो भने उक्त रकम बैंकमा राख्दा सय करोडको प्रमाण सम्पत्ति शुद्धिकरणले माग्छ त्यो कहाँबाट ल्याउँने ? प्रमाण ल्याउन नसक्दा उक्त रकम कसरी दुई नम्बरी भयो । यहाँको सम्पत्ति शुद्धिकरणको व्याख्या मै समस्या छ ।
आज यूवा पलायनको बृद्धिदर निकै माथि छ । विदेश पढेर आएको हुने खानेका छोछोरीहरु यहाँको राजस्व, सम्पत्ति शुद्धिकरण लगायतको प्रणाली देखेर छक्क पर्छन । विदेशमा पढेर आउनेहरु दिक्क भएर फेरी बाहिर जान्छन । यी सब कुरालाई मिलाउँनुपर्छ भन्ने आग्रह हो । नेपालमा कृषिमा क्रान्ति गर्न सक्छौ यूवाहरु स्वदेश फर्काउँन सकिने आधार यो पनि बन्न सक्छ ।
हामीले बारम्बार गाँजा खेतीको कुरा गर्यौ । गाँजा खेती गरेर जनतालाई लठ्ठ बनाउँने भनेका होइनौ । गाँजाको औषधी निर्यात गर्ने हो भने देशको अर्थतन्त्रको कायापलट गर्न सक्छौ ।विदेशीलाई अपार्टमेन्ट बेच्न दिने कुरा पटक पटक आयो तर कार्यविधि र नियमावली नै बनेन । उनीहरुलाई बेच्न दिन सकिने भएको भए विदेशी मुद्रा नेपालमा आउथ्यो । यदि नेपालमा विदेशीले अपार्टमेन्ट किन्न पाउने हो भने विदेशमा मार्केटिङ गर्न सक्छौ ।
तपाईले अघि आइएमएस ग्रुपका केही विस्तुहरु खासै चलेका छैनन त्यसलाई छोडेर चलेको प्रोडक्टतर्फ केन्द्रित हुनुपर्नेछ भन्नुभयो । के–के हुन त्यस्ता नचलेका र चलेका वस्तुहरु ?
कुनै पनि व्यापार नाफमा छैन । २००१ देखि सामसुङ मोबाइल फोनको बिक्रि शुरु गरेको हो । आजका दिनमा मोवाइल फोनपनि घाटामा छ । मोबाइल किन्नेहरु विदेश पलायन भए । चोरी पैठारी रोक्न सकेनन । एमडिएमएस लागु भएन । खुलेयाम सामाजिक सञ्जालमा बिक्रि भइरहेका छन चोरी पैठारीका वस्तु । यसलाई राज्यले अनुगमन तथा कारबाही गरेको खै ? अहिले अर्थतन्त्र शिथिल अवस्थामा छ । केही बर्ष अघिसम्म प्रतिस्पर्धा थिएन । चाइनिज मोबाइल फोन अलि राम्रा आउन थाले यसले पनि सामसुङको बजार घटेको छ ।
कोरियाबाट ल्याउने स्याङ्योङ गाडीको आयात बन्द गरेका छौ । ।आइएमएस समुहको अत्यधिक घरजग्गामा लगानी छ । अब अरु १ वर्ष मन्दी होला पछि बढ्छ । हाइड्रोपावरमा पनि फोकस हुनेछौ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !