काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सद्वारा आयोजित ‘आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला–२०२५’ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्यात बढाउन ठुलो मात्रामा उत्पादन गर्न र कुन चिज कहाँ बिक्री हुन्छ भन्ने थाहा पाएर त्यस अनुसारको व्यापारवृद्धि गर्न सक्नुपर्नेमा जोड दिए । उनले नेपाललाई न्यून आय भएको मुलुकबाट स्तरोन्नति गराउन सबै जुट्नुपर्ने आग्रह गर्दै आफू सप्रिउँ र देशलाई पनि सपारौँ भन्ने लक्ष्यका साथ चेम्बर एस्क्पो भएकामा खुसी व्यक्त गरे।
चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले एक्स्पोमार्फत स्थानीय उत्पादनको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य रहेको बताए ।
“मुलुकभित्र आयोजना हुने अन्तर्राष्ट्रियस्तरका व्यापार मेला तथा प्रदर्शनीले नविनतम् प्रविधि, उत्पादन, उपभोक्ताको चाहना एवं बजारीकरणबारे प्रत्यक्ष अवलोकन गर्न सकिने अवसर प्रदान गरेका हुन्छन्,” उनले भने, “मुलुकभित्र यस्ता आर्थिक क्रियाकलापको विस्तारले बाह्य व्यापारिक समुदायसँग सहकार्य भई स्वदेशी उद्यमी तथा व्यवसायीमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुन्छ ।”
उनका अनुसार एक्स्पोमा यस वर्ष अन्तर्राष्ट्रियस्तरको ‘सफ्टवयर’ र ‘एआई’ परियोजना आकर्षणको केन्द्रको रुपमा रहेका छन् । मुलुकमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी कक्ष निर्माण गर्न अविलम्ब पहल गरिनुपर्ने र यसका लागि सरकारसँग सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए ।
यस वर्ष पनि एक्स्पोमा कृषिजन्य वस्तु, हस्तकला, लत्ता कपडाका सामान, अटोमोबाइल, इलेक्ट्रोनिक्स, घरेलु उपकरण, कपडा, फर्निचर, गार्मेन्ट, छालाका सामान, गहनाका सामान, सौन्दर्य प्रसाधन सामग्रीलगायतको प्रदर्शनी आगन्तुकका लागि आकर्षणको केन्द्र बन्न सक्ने विश्वास गरिएको छ । एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका व्यवसायीले उक्त देशमा उत्पादित वस्तुसहित सहभागिता जनाएका छन् ।एक सय २५ स्टल रहेको चेम्बरको मेला यही माघ २१ गतेसम्म चल्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !