काठमाडौ । बैंकहरुको औषत आधारदर नै ६.८१ प्रतिशतमा झरेको छ । कुनै बेला दोहोरो आधारदरका कारण अचाक्ली महंगो ब्याजदरमा ऋण लिन बाध्य ऋणीहरु यति धेरै तल आधारदर आइसक्दा पनि कर्जा लिन चासो देखाएका छैनन् । विशेषगरी एकल अंकको ब्याजदर चाहिने आवाज उठाएका ब्यापारी व्यवसायी यतिबेला मौन जस्तै देखिएका छन् ।
केही व्यवसायीहरु घटेको बेला ऋण लियो कतिबेला ब्याजदर बढाइदिन्छन पत्तो् नहुने भन्दै कर्जा लिन डराइरहेका छन् भने कतिपय कर्जा लिएर पनि के मा लगानी गर्ने भन्दै दोधारमा परेका छन् । पुसमा बैंकहरुको औसत आधारदर ७.०२ प्रतिशत थियो । यस आधारमा हेर्दा पनि बैंकहरुको आधारदर घट्दो क्रममा देखिएको छ ।
अहिले सबैभन्दा कम आधारदर स्टान्डर्ड चार्टर्ड बैंकको ५.१९ प्रतिशत छ । कम आधारदर हुनु भनेको ऋणको ब्याजदर कम हुने आधार हो । यस आधारमा हेर्दा बाणिज्य बैंकहरुमा अहिले स्ट्याण्डर्ड चाटर्ड बैंकबाट सबैभन्दा सस्तोमा कर्जा पाइने देखिन्छ । त्यस्तै, अर्को बैंक राष्ट्रिय वाणिज्य बैंकको आधार दर ५.६४ प्रतिशत रहेको छ । सरकारी स्वामित्वको यो बैंकबाट कर्जा लिदा पनि सस्तो ब्याजदर पर्ने देखिन्छ ।
एभरेष्ट बैंकको आधार दर ५.६६ प्रतिशत छ । ७ बैंकको आधार दर ७ प्रतिशतभन्दा कम छ । सबैभन्दा धेरै आधार दर हुनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको आधारलर ७. ७५ प्रतिशत छ । यसकारण एनआईशी एशियाबाट कर्जा लिदा महंगो ब्याज पर्नेछ । नेपाल बैंकको ६.२७ प्रतिशत, नबिल बैंकको ६.३१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.५८, कृषि विकास बैंक ६.७८ प्रतिशत रहेको छ भने सानिमा बैंकको ६.९० प्रतिशत, एनएमबी बैंकको ६.९२ प्रतिशत, ग्लोबल आइएमइ बैंकको ६.९५ प्रतिशत, हिमालयन बैंकको ७.०२ प्रतिशत, एसबिआई बैंक र माछापुछ्रे बैक्ंको ७.१४ प्रतिशत, प्रभु बैंकको ७.२६, कुमारी बैंकको ७.२८, सिटिजन्स बैंकको ७.३०, सिद्धार्थ बैंक ७.३१ र लक्ष्मी सनराइज बैंक ७.३४ प्रतिशत रहेको छ ।
बैंकर्सहरु पनि कर्जाको माग नबढ्नुमा उद्योगी व्यवसायीमा आत्मविश्वास कमी हुनुपनि रहेको बताउँछन् । पछिल्लो समयम निक्षेपको ब्याजदर पनि निरन्तर तल झरिरहेको छ । तैपनि निक्षेप निरुत्साहीत भएको छैन । बैंकहरुले दैनिक जसो बैंकिङ प्रणालीबाट अर्बौ रुपैयाँ तानिरहेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !