काठमाडौँ । छिमेकी मुलुक भारतले आज ७६औं गणतन्त्र दिवस मनाएको छ । यस अवसरमा नेपालमा समेत विविध कार्यक्रमहरु आयोजना गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७६औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन् ।
नेपालमा रहेको भारतीय राजदूतावासले भारतको ७६औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार लैनचौरस्थित् दूतावास परिसरमा आयोजित समारोहमा भारतको राष्ट्रिय झन्डोत्तोलन गरेर गणतन्त्र दिवसको सुरुवात गरेका थिए। त्यस्तै राजदूतावास परिसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा भारतीय सांस्कृतिक नाच प्रदर्शन गरिएको थियो ।कार्यक्रममा विभिन्न दलका नेता,कुटनीतिक व्यक्तित्व र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
सन् १९५० मा भारतको स्वतन्त्रता पछिको संविधानलाई अङ्गीकार गरेको दिन जनवरी २६ अर्थात् गणतन्त्र स्थापनाको दिनको सम्झनामा मनाइने यस दिवसका अवसरमा परेड, राजनीतिक सम्बोधन, सांस्कृतिक कार्यक्रम र समारोहसँगै भारतको इतिहास, सरकारको उपस्थिति र भारतीय परम्पराहरू झल्काउने विभिन्न कार्यक्रमहरू गर्ने गरिन्छ ।
गणतन्त्र दिवसको अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, अन्य नेतागण र सबै राज्यका मुख्यमन्त्री, सरकारी उच्च पदस्थ अधिकारी, कलाकारलगायतले सामाजिक सञ्जालमार्फत् शुभकामना सन्देश जारी गर्दै भारतमा गणतन्त्र स्थापनाको स्मरण गरेका छन् ।
यो बर्ष सरकारले गणतन्त्र दिवसका अवसरमा आइतबार नयाँ दिल्लीमा आयोजित वार्षिक सैन्य तथा सांस्कृतिक परेडमा विशिष्ट अतिथिका रूपमा इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोलाई निमन्त्रणा दिएको छ । उनले आजै जनवरी २६ अर्थात् गणतन्त्र दिवसको मुख्य समारोह औपनिवेशिक युगको सुधारिएको बुलेवार्डमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जाल एक्समा जारी एक सन्देशमा भनेका छन्, “यो अवसरले हाम्रो संविधानको आदर्शको संरक्षण र बलियो र समृद्ध भारतको दिशामा काम गर्ने हाम्रो प्रयासलाई बलियो बनाओस् ।”
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !