काठमाडौ । बैंकमा अत्यधिक तरलता (लगानीयोग्य रकम) भएपछि नेपाल राष्ट्र बैंकले माघको तीन दिनमै साढे १ खर्ब रुपैयाँ भन्दा बढी रकम बैकिङ प्रणालीबाट उठाएको छ । माघ २ गते केन्द्रिय बैंकले ४० अर्ब रुपैयाँको बोलकबोल माग गरेको थियो । त्यतिबेला १८ अर्ब १५ करोड रुपैयाँका लागि बोलकबोल परेको थियो । सोही बराबरको रकम केन्द्रिय बैंकले तानेको थियो भने माघ ६ गते ६० अर्ब रुपैयाँ बोलकबोलका लागि आव्हान गर्दा ५५ अर्ब २५ करोड रुपैयाँ बैंकहरुले केन्द्रिय बैंकमा राखेका थिए ।
यस्तै माघ ९ गते ९० अर्ब रुपैयाँको लागि बोलकबोल खुलाइएको थियो । उक्त समयमा ७७ अर्ब ६५ करोड रुपैयाँ केन्द्रिय बैंकले तानेको थियो । यस आधारमा तीन दिनमा केन्द्रिय बैंकले १ खर्ब ५१ अर्ब रुपैयाँ तानेको छ । बैंकहरुले तीन प्रतिशत ब्याजदरमा उक्त रकम राखेका हुन् ।
अहिले बैंकहरुले सर्वसाधारणलाई दिने निक्षेपको ब्याजदर निकै तल झारिसकेका छन् । मुद्दती निक्षेपमा ५ प्रतिशतसम्म ब्याज दिएका बैंकहरुले त्यही निक्षेप केन्द्रिय बैंकमा राख्न बाध्य भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको सिडि रेसियो (कर्जा निक्षेप अनुपात) ७८.३० प्रतिशत रहेको छ । बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । तर अपेक्षित लगानी विस्तार हुन नसक्दा तरलता व्यवस्थापनमा बैंकहरुलाई सकस परेको छ ।
यस्तै अन्तरबैंक ब्याजदर ३ प्रतिशत पुगेको छ । हालसम्म बैकिङ प्रणालीमा ६७ अर्ब १४ करोड रुपैयाँ निक्षेप रहेको छ । यसमा सबैभन्दा बढी हिस्सा बाणिज्य बैंकहरुको रहेको छ । यस्तै कुल कर्जा लगानी ५४ खर्ब १० अर्ब रुपैयाँ रहेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !