काठमाडौं । मंसिर लागेपछि सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै गएको छ । विगतमा कोरोना तथा रुस-युक्रेनबीच युद्ध चर्किएका बेला लगातार उकालो लागेको सुनले अहिले इजरायल र प्यालेस्टाइनबीचको युद्धको समयमा एकपछि अर्को रेकर्ड बनाइरहेको हो ।
मंसिर लागेपछि हरेक दिन सुनको मूल्यले इतिहास कायम गरेको छ । मंसिरका १८ दिनमा छापावाला सुनको मूल्य प्रतितोला ६ हजार १ सय रुपैयाँले बढिसकेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार मंसिर १ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ थियो । त्यसयता लगातार बढेर सोमबार १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको छ ।
सुनको मूल्य मंसिर ११ गते १ लाख ७ हजार रुपैयाँको रेकर्ड ब्रेक गर्दै १ लाख १७ हजार ४ सय रुपैयाँ कायम भएको थियो । मंसिर १२ गते सुनको मूल्य बढेर १ लाख १७ हजार ७ सय रुपैयाँ कायम भयो । त्यसयता हरेक दिन सुनको मूल्यले एकपछि अर्को रेकर्ड कायम गरिरहेको छ ।महासंघका अनुसार मंसिर १३ र १४ गते १ लाख १९ हजार ३ सय, मंसिर १५ गते १ लाख १९ हजार र मंसिर १७ गते सुनको मूल्य १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
सुनको मूल्यले हरेक दिन रेकर्ड कायम गर्दै जाँदा सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले सुनको मूल्यले हरेक दिन नयाँ रेकर्ड राख्नु आश्चर्यजनक रहेको बताए । उनका अनुसार बजारमा सुनको मूल्यले इतिहास कायम गर्दै जाँदा मंसिर अन्त्यसम्ममा १ लाख २५ हजार रुपैयाँ पुग्ने अनुमान भइरहेको बताएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !