काठमाडौ । वैदेशिक रोजगारीमा मृत्यु हुनेको डरलाग्दो तथ्यांक फेला परेको छ । आर्थिक अभावका कारण जिविकोपार्जन र परिवारको लालन पालनको दायित्व बोकेर विदेशी भुमिमा श्रम बेच्न पुगेका नेपालीहरुको मृत्युको ग्राफ उकालो लाग्नेक्रममा रहेको छ ।चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारमा गएका ७ सय ४२ जनाको मृत्यु भएको छ । बैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार यो साउन देखि माघ २ गतेसम्मको तथ्यांक हो । हृदयघात, कार्यस्थलमा दुर्घटना, सडक दुर्घटना, बिरामी तथा आत्महत्या जस्ता कारणले उनीहरुको मृत्यु भएको देखिन्छ । अधिकांशको भने प्राकृतिक मृत्यु भएको देखिन्छ ।
नेपालको अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स भित्र्याउँन महत्वपूर्ण योगदान गर्ने वैदशिक रोजगारीमा गएका तिनै श्रमिकहहरु दैनिक औषत ४ जनासम्म बाकसमा फर्कने गरेको सरकारी तथ्यांक छ ।
गत आवमा मात्र १ हजार ४ सय ९२ नेपाली श्रमिकले ज्यान गुमाएको र ५ सय ७८ जना अंगभंग भई स्वदेश फर्किएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगार बोर्डको सचिवालय स्थापना भएको आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा १४ हजार ३७३ जनाको मृत्यु भएको हो । यो भनेको श्रम स्विकृति लिएर गएकाहरुको तथ्यांक हो ।
यो अवधिमा ३ हजार ६ सय ८३ जनाको अंगभंग भएको छ भने ९ सय जनाको उद्धार तथा खोजतलास भएको बोर्डको सचिवालयले जनाएको छ ।
सरकारले कात्तिक यता वैदेशिक रोजगारीको क्रममा मृत्यु भएकाको परिवारलाई १० लाखका दरले सहयोग प्रदान गर्दै आएको छ । कात्तिक ८ गतेसम्म प्रति मृतक ७ लाख रुपैयाँका दरले सहयोग गर्ने गरेको थियो ।कुनै पनि देशमा कामको शिलशिलामा मृत्यु भएको एक वर्षभित्र दाबी परेको छ भने शतप्रतिशत सहायता दिइने गरेको छ । त्यसपछि परेको दाबीमा २५ हजार रुपैयाँ सहायता प्रदान गर्ने गरेको बोर्ड सचिवालयले जनाएको छ ।
यसका लागि आफु काम गरेको सम्बन्धित देशको नेपाली दुतावासले मृत्यु भएको घोषणा गरेपछि बैदेशिक रोजगार बोर्डले त्यसको रेकर्ड राख्ने गरेको छ । वैदेशिक रोजगारीका क्रममा बिरामी तथा अंगभंग हुने र मृत्यु भएका व्यक्तिका हकवालाले आर्थिक सहायता पाउँछन् । यो सहायता पाउन श्रमिकले श्रम स्वीकृति लिएको हुनुपर्ने, श्रम स्वीकृति नवीकरण गरेको हुनुपर्ने र बिरामी वा मृत्यु भएको वर्ष दिनभित्रै बोर्डमा निवेदन दिनुपर्ने कानुनी प्रक्रिया छ । रोजगारीको खोजीमा बर्सेनि हजारौं नेपाली विभिन्न देश पुग्ने गरेका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !