काठमाडौ । झण्डै एक बर्षपछि नेपाल धितोपत्रबोर्डले नयाँ अध्यक्ष पाएको छ । सोमबार बसेको मन्त्रिपरियषदको बैठकले बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । बोर्ड अध्यक्ष बन्नका लागि १९ जनाले आवेदन दिएका थिए ।आवेदन दिएका मध्य ५ जना सर्टलिस्टमा परेका थिए । त्यसमा सन्तोष नारायण श्रेष्ठ, नेपाल स्टक एक्सचेन्जका कृष्ण बहादुर कार्की, धितोपत्र बोर्डका डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठ तथा तत्कालिन बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई परेका थिए ।
५ जनाको लिस्टमा अटाएका सन्तोष नारायण श्रेष्ठलाई त्यतिबेलै हालका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष बनाउन चाहेका थिए । सत्ता समिकरणमा माओवादी र एमाले भएकाले तत्कालिन अर्थमन्त्री वर्षमान पुनले श्रेष्ठलाई अध्यक्ष बनाएर ल्याउन चाहेका थिएनन । यसैकारण यतिलामो समयसम्म बोर्डको अध्यक्षको विषयमा राजनीतिक रंग मिसिरह्यो ।
अर्थमन्त्रालयद्धारा गठित धितोपत्र बोर्डको अध्यक्ष पदका लागि पाँच जनाको सर्टलिष्ट गत चैत्र २५ गते प्रकाशित भएपनि ओलीको अडानका कारण अध्यक्ष चयन प्रक्रिया लम्बि रह्यो । अहिले भने नेकपा एमालेकै प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोगका उपाध्यक्ष भएकाले श्रेष्ठले सजिलै अध्यक्ष पद आफ्नो हातमा पार्न सफल भएको स्रोत बताउँछ । ओलीले आफू निकट दीपक भट्टको स्वार्थमा सन्तोष नारायण श्रेष्ठलाई जसरी पनि अध्यक्षमा नियुक्त गर्नुपर्ने अडान त्यतिबेलै राखेको विषयले निकै चर्चा समेत पाएको थियो । पछिल्लो समय कर्पोरेट घरानाहरु पनि आफू अनुकुलको अध्यक्ष भित्र्याउने दौडमा थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !