काठमाडौँ । यस हप्ताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । आइतबार ५०.५९ अंकले घटेको नेप्से परिसूचक घटाईलाई निरन्तरता दिँदै आज सोमबार ५७.०३ अंकले घटेको छ। यससँगै आज नेप्से परिसूचक २५८०.७६ विन्दुमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः २.१६ प्रतिशतले घटेको छ ।
सोमबार नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक घटेको छ । यस दिन सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक ५.६६ प्रतिशतले घटेको छ । त्यस्तै सबैभन्दा कम घट्ने उपसमूहमा म्युचुवल फण्ड रह्यो जसको परिसूचक १.१७ प्रतिशतले घटेको छ ।
बजारमा ठूलो गिरावट आए तापनि सोमबार दुई कम्पनीको शेयर भने सकारात्मक सर्किटको लेभलमा कारोबार भएको छ । यस दिन आत्मनिर्भर लघुवित्त र हिमालयन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सर्वाधिक घट्नेमा गुडविल फाइनान्स रह्यो जसको शेयरमा ९.९१ प्रतिशतको गिरावट आएको छ ।
नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३१२ स्टकको ९२ हजार ८ सयर १५ पटकको कारोबारमा ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको एक करोड ७० लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १४ वटा कम्पनीको शेयर बढेको छ भने २२७ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै तीन वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।
सोमबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रह्यो जसको ३१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयर रह्यो जसको ५ लाख ७७ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !