काठमाडौँ । नेपाल राष्ट्र बैंकले कात्तिक मसान्तसम्मको अर्थतन्त्रको वास्तविक अवस्था सार्वजनिक गरेको छ । सार्वजनिक पछिल्लो ४ महिनाको तथ्यांकअनुसार अर्थतन्त्रका बाह्य सूचक सन्तोषजनक रहेपनि आन्तरिक सूचकहरु भने चिन्ताजनकनै रहेको देखाएको छ ।
तथ्यांकअनुसार सरकारको खर्च र आम्दानीको अन्तर ७८ अर्ब ९९ करोड रहेको देखिन्छ । यस अवधिमा सरकारको राजश्व जम्मा २ खर्ब ७६ अर्ब रहँदा सरकारी खर्च भने ३ खर्ब ५५ अर्ब रहेको देखिएको छ,जुन चिन्ताजनक हो । यसले सरकारले पूँजिगत खर्चका लागि लगानी गर्न नसक्ने तीतो यथार्थ दर्शाएको छ । सार्वजनिक तथ्यांकअनुसार यस अवधिमा विप्रेषण (रेमिट्यान्स) आप्रवाह नेपाली रुपैयाँमा २६.४ र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ ।
त्यस्तै शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोडले बचतमा रहँदा आयात ३.८, निर्यात ७.७ र कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले घटेको छ । कुल विदेशी मुद्रा सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रहँदा अमेरिकी डलर १२ अर्ब ७५ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.७ प्रतिशतले बढेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेप वृद्धिदर १४.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.४ प्रतिशत रहेको छ ।
हेरौं मूख्य झलक-
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !