काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै नागरिकमा बढ्दै गएको निराशा अन्त्य गरी आशा र उत्साहको सञ्चार गर्न तथा देशलाई तीव्र आर्थिक विकासको दिशामा अगाडि बढाउन नयाँ सरकार बनेको बताए ।
प्रधानमन्त्री ओलीले अहिले सिङ्गो देश निराशामा रहेको, आयात र निर्यात दुवै घटेको, लक्ष्यअनुसारको राजश्व उठ्न नसकेको, बैङ्कहरूमा पैसा थुप्रिएको तर कर्जा प्रवाह निरन्तर घट्दै गएको, कर्जा तिर्न नसक्दा कालो सूचीमा पर्ने व्यवसायीको सङ्ख्या बढ्दै गएको जस्ता अवस्थालाई परिवर्तन गरी निजी क्षेत्रमा आशाको सञ्चार गर्न तथा अर्थतन्त्रलाई गति दिन सरकारको ध्यान केन्द्रित हुने बताए ।
प्रधानमन्त्री ओलीले युवा पुस्ता बिदेसिने क्रम बढ्दै गएको र देशप्रति जनताको भरोसा टुटेको अवस्थामा बनेको अहिलेको सरकारले सुरु भएका विकास निर्माणका कामलाई गति दिई तोकिएको समयभित्र सम्पन्न गर्ने, आयात प्रतिस्थापन र स्वदेशी कच्चा पदार्थमा आधारित दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगको प्रवद्र्धन गर्ने बताए ।
सरकारले सूचना प्रविधि, पर्यटन, ऊर्जा, कृषि र बन क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख संवाहकका रुपमा पहिचान गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उद्योग व्यवसायीहरूलाई आफ्नो सोँच तथा लगानी यीनै क्षेत्रमा केन्द्रित गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको मनोबल बढाउँदै यसलाई देशको प्रमुख उत्पादन संयन्त्रको रुपमा विकास गर्ने र दैनिक उपभोग्य बस्तुको उत्पादन तथा रोजगारीका अवसर वृद्धि गर्नका लागि सरकारको ध्यान केन्द्रित रहने बताए ।
प्रधानमन्त्री ओलीले गरिबी, अभाव र भोकमरीको अन्त्य गर्ने, परिणाम निकाल्ने गरी सरकारको नीति कार्यक्रम र बजेटमा परिमार्जन गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिई सुशासन कायम गर्ने र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने विषयलाई सरकारले मुख्य प्रथामिकतामा राख्ने बताए ।
प्रधानमन्त्री ओलीले कानूनको शासन र जनताका हक अधिकार सुनिश्चित गर्ने तथा न्यायालयप्रति जनताको विश्वास तथा भरोसा बढाउन तर्फ समेत सरकारको ध्यान केन्द्रित रहने बताए ।
बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतामा बढ्दै गएको निराशालाई अन्त्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने देश भित्रै रोजगारीका अवसरहरू सिर्जना सरकारले ठोस योगदान दिने विश्वास लिएको बताए ।
सभापति देउवाले सबै राजनीतिक दलहरू बीचको सहमतिका आधारमा संघीय गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप बलियो बनाउनेगरी संविधानको संशोधन हुने बताए ।
सभापति देउवाले राजनीतिलाई स्थिरता दिनका लागि नेपाली काँग्रेस र नेकपा एमाले बीच सात बुँदे सहमति भई अहिलेको सत्ता गठबन्धन बनेको उल्लेख गर्दै यसले जनताको अपेक्षा बमोजिम काम गर्ने समेत विश्वास व्यक्त गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !