काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा अन्तर्वार्तामा उपस्थित दुई जनालाई मात्रै सिफारिस गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएको छ।
अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिको जित्रासाअनुरुप धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति सम्बन्धमा उक्त राय दिएको हो।
समितिले असार २ र ५ गते छनोटमा परेका ५ जनालाई अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणमा बोलाएको थियो। तर उनीहरुमध्ये २ जना मात्रै उपस्थित भए भने ३ जना अनुपस्थित रहेका थिए। धितोपत्रसम्बन्धी ऐनअनुसार ३ जनाको नाम सिफारिस गर्नुपर्ने हुँदा अन्तर्वार्तामा उपस्थित २ जनालाई मात्रै सिफारिस गर्ने नगर्ने अन्योल भएपछि अर्थमन्त्रालयले महान्यायाधिवक्तासँग राय मागेको थियो ।
महान्यायाधिवक्ताको कार्यालयले दुई जनाको नाम सिफारिस गर्न नमिल्ने व्याख्या गरेको हो। अब अन्तर्वार्ताका लागि उपस्थित दुई जना र प्रस्तुतीकरणका आधारमा एक जना छनौट गरेर ३ जना सिफारिस गर्ने वा छनौटमा परेका ५ जनाकै नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने भन्ने निर्णय समितिले नै लिनुपर्ने भएको छ।
समितिले लिएको अन्तर्वार्तामा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र व्यवसायी सन्तोष श्रेष्ठ उपस्थित भएका थिए। छनौटमा परेका बोर्डका कार्यकारी निर्देशक डा।नवराज अधिकारी, नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की अन्तर्वार्तामा अनुपस्थित थिए।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !