काठमाडौँ । चीनको चर्चित इलेक्ट्रिक कार उत्पादक कम्पनी बिवाइडी (BYD )ले द्रुत गतिमा अटोमोबाइल क्षेत्रमा आफ्नो पकड जमाउँदै गएको छ । यसै क्रममा बिवाइडीले सन् २०२५मा आफ्नो सबैभन्दा सस्तो इलेक्ट्रिक कार सीगल इभी (Seagull EV) युरोपेली बजारमा सार्वजनिक गर्न लागेको छ । उक्त कारले आधिकारिक लन्च अघि नै विदेशी प्रतिद्वन्द्वीहरू बीच हलचल सिर्जना गरिरहेको छ।
कम्पनीले सीगल इभीको मुल्य जम्मा ९ हजार ७ सय अमेरिकी डलर तय गरेको छ जसले गर्दा उक्त कम्पनीको प्रतिद्वन्द्वीहरू ससंकित भएका छन् । बिवाइडीको यस कदमले इलेक्ट्रिक कारको दुनियामा उक्त कम्पनीको अस्तित्व थप मजबुत बनाउने देखिएको छ ।
यस कारमा कम मूल्यको वाबजुद पनि विभिन्न अत्याधुनिक सुविधाहरु दिइएको छ । सीगल इभीमा १०.१ इन्चको घुम्ने कन्सोल स्क्रिन रहनेछ जसमा प्रयोगकर्ताहरूले डाइलिङ्क (DiLink) को इन्टेलिजेन्ट नेटवर्कको संचार प्रयोग गर्न सक्नेछन् । सीगल इभी ब्लेड ब्याट्रीहरूद्वारा संचालित हुनेछ । उक्त कारको दुई मोडेलमा ३०.०८ किलोवाट हावर र ३८.८८ किलोवाट हावरको ब्याट्री जडित हुने छ, जसले फुल चार्जमा क्रमशः ३०५ किमी र ४०५ किमी दायरा प्रदान गर्नेछ ।
सीगल इभीको निर्माणमा ल्याम्बोर्गिनीका पूर्व डिजाइनर वोल्फग्याङ एगरले नेतृत्व गरेकाले कारलाई “मिनी ल्याम्बोर्गिनी” उपनाम दिइएको छ ।
बिवाइडीको सीगल इभी चीनमा तीन विभिन्न मोडेलमा उपलब्ध छ। बेस मोडलको मूल्य १० हजार अमेरिकी डलर, फ्री ट्रीमको मूल्य १० हजार ५०० अमेरिकी डलर, र रेञ्ज टपिंग मोडलको मूल्य १२ हजार डलर कायम गरिएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !