काठमाडौं । दुई ठूला परियोजनाको सुरुङमा ‘ब्रेकथ्रु’ हुन अन्तिम चरणमा पुगेको छ। काठमाडौं उपत्यका भित्रिने नागढुंगा-सिस्नेखोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी बैशाख ३ गते हुने मिति आयोजनाले घोषणा गरिसकेको छ।
सुरुङ खन्नका लागि दुई मिटरमात्रै बाँकी रहेता पनि निर्माणको जिम्मा पाएको कम्पनी हाजमा एण्डो कर्पोरेसनका आयोजना प्रमुख केनइची इनोई जापानमा रहेकोले आगामी बैशाख ३ गतेका लागि सारिएको आयोजनाले जनाएको छ।
यता सुनकोशी मरिण डाइभर्सन अन्तर्गत सुरुङ खन्ने काम नयाँवर्षको आसपासमा सकिने भएको छ। आयोजानाले आगामी बैशाख दोस्रोसाता सम्म सुरुङ ब्रेक थ्रुुको तयारी गरेको छ।
सुनकोशी मरिणमा१३.३ किमि सुरुङमध्ये १२.५१७ किमि सुरुङ निर्माण भएको छ। आयोजनामा कमलामाई नगरपालिका-२ कुसुमटारदेखि सुनकोशी गाउँपालिका-७ कानढुंग्रीसम्म सुरुङ बनिरहेको हो।
लामो रस्साकस्सीपछि काठमाडौं जोड्न पहिलो सुरुङ मार्ग निर्माण भएर अन्तिम चरणमा पुगेको छ। निर्माण भएर सञ्चालन हुन अझै मंसिरसम्म भने कुर्नपर्ने हुन्छ। नागढुंगा उकालोमा हुने घण्टौँको ट्राफिक जामको समस्या हल हुने बताइएको छ।
सरकारले १६ अर्ब रुपैयाँ जाइकासँग ऋण लिएर बनाउन थालेको सुरुङ निर्माणको कुल २२ अर्ब खर्च हुने छ। उक्त आयोजनामा उक्त ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ।
यसअघि १४ मिटर सुरुङ खन्न बाँकी छँदा स्थानीयले खानेपानी, सिँचाइलगायत माग राखेर एक महिना काम ठप्प पारेका थिए। जसका कारण गत फागुन २३ मा ‘ब्रेक थ्रु’ गर्ने समय तालिका प्रभावित भएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा स्थानीयसँग नौ बुँदे सहमति भएपछि यही चैत ६ देखि पुनः निर्माण सुरु भएको थियो। अब भने सुरुङको काम सकिएर बैशाख ३ मा ब्रेकथ्रु गर्न लागिएको हो।
सुरुङ बनेपछि मुख्य सडक साढे ७ किमि छोटिनेछ। मुख्य सुरुङको दूरी २.६८८ किमि छ। आयोजना सुरु भएयता ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास, ३ वटा पुल निर्माण भइसकेको छ। थानकोटमा फ्लाइओभर निर्माणाधीन छ।
सुरुङबाट ग्यास बुलेट, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र मोटरसाइकल चल्न पाउने छैनन्। यो आयोजना निर्माण सुरु भएको ५१ महिना बितिसकेको छ।
सम्झौताअनुसार आयोजनाको समयावधि २०८० बैशाखमा सकिएको हो। उक्त समयभित्र काम नसकिएपछि २०८१ बैशाख १३ सम्मलाई म्याद थपिएको छ। २०७६ कात्तिकमा निर्माण थालिएको सुरुङको काम सम्झौताअनुसार ४२ महिनाभित्र सकिनुपर्ने थियो।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !