काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको विवाद धाकधम्की र कुटपिटमा पुगेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नेरनगर्ने विषयमा शुरू भएको विवाद कुटाकुटको अवस्थामा पुगेको हो ।अध्यक्ष रञ्जिता पक्षका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पत्रकार सम्मेलन गरेरै रेशम चौधरीले आफूहरूमाथि भौतिक आक्रमण र ज्यान मार्नेसम्मको धम्की दिएको बताएका छन् ।
विश्वकर्माले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरेर रेशम चौधरीका कार्यकर्ताले आफूमाथि आक्रमण गरेको आरोप लगाएका हुन् ।केन्द्रीय समिति बैठकका लागि अध्यक्षलाई कुरिरहेको समयमा ढोका बाहिरबाट चुकुल लगाएर ममाथि आक्रमण भयो । अध्यक्षसहित २१ जना केन्द्रीय सदस्यको ज्यान जोखिममा छ’, विश्वकर्माले भने ।
आफूलाई फोन गरेरै रेशमले सुदूरपश्चिमका मुख्यमन्त्री कमल साहको सरकार ढल्ने अवस्था आएमा पार्टीका नेताको हत्या हुन सक्ने धम्की दिएको विश्वकर्माले दाबी गरे । यद्यपि, रेशमले हिजोको भनाइ फिर्ता लिइसकेको विश्वकर्माले बताए ।
‘हिजोको धम्कीलाई लिएर रेशमलाल चौधरीले माफी माग्नु भएको हो । तर ज्यानकै जोखिम देखिएकाले पत्रकार सम्मेलन गर्नु परेको हो । हामीलाई गाडीले पछाडिबाट ठक्कर दिएर हत्या भयो भने पनि त्यसको जिम्मा रेशमले लिनुपर्छ’, उनले भने ।
विश्वकर्माले आफूहरूमाथि आक्रमणको खतरा रहेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराए । केन्द्रीय समिति बैठकपछि उन्मुक्तिका नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई भेट्न जाने कार्यक्रम थियो ।
२०७९ सालको चुनावमा पश्चिम तराईका थारू समुदायको भोटका कारण उदाएको क्षेत्रीय पार्टी नागरिक उन्मुक्ति पति पत्नीको विवादका कारण विभाजन उन्मुख छ । चौधरी जेलमा रहेको समयमा रेशम पत्नी रञ्जिताले चुनाव जितेकी थिइन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !