प्रा. डा. दिलनाथ दंगाल
देशको अर्थतन्त्रका केहि तथ्यांकलाई केलाएर हेर्ने हो भने गत सालको तुलनामा रेमिट्यान्स बढेको छ । तत्कालका लागि रेमिट्यान्स बढ्नु राम्रो पक्ष हो । तर, गाउँ नै रित्तिने गरी देशका युवा विदेशिएर आएको पैसाले हाम्रो अर्थतन्त्र सवल छ भन्नु र सुनिएर मोटाउनु एउटै कुरो हो । प्रतिदिन २२ सय देखि २५ सय सम्म युवा देशबाट बाहिरिएर आएको रेमिट्न्सले हामी कतिदिन रमाउने हो । तसर्थ अब यसको दीर्घकालिन समाधान खोज्ने समय आएको छ ।
यो अवधीमा आयातमा कमी सँगै लगानी पनि कम भयो जसले गर्दा बैंक तथा वित्तीय संस्थाले लिएको निक्षेप निष्क्रिय रहनाले पैसा चलायमान हुन सकेन । १४ प्रतिशतले निक्षेप बढ्दा लगानी ५ प्रतिशत मात्र बढ्यो । यसको प्रभाव रोजगारी, राजस्व, निर्माण, सेवालगायत विविध क्षेत्रमा पर्न गयो । यो भन्दा अगाडी सहकारीमा जम्मा हुने गरेको रकम तथ्यांकको दायरामा खासै थिएन । अहिले सहकारीमा समस्या देखिएपछि बैंकिङ च्यानलमा आउन थालेको र बैंकमा तरलताको अवस्थामा सुधार हुन थाले पनि अझै पनि सहज कर्जाको माग भई लगानी गर्न सक्ने वातावरण देखिँदैन ।
देशमा अझै ३५ प्रतिशत जनसंख्या वित्तीय पहुँचबाट बाहिर रहेको भनिन्छ तर गत साल २०७९ मंसिरमा १२५ वटा बैंक तथा वित्तीय संस्था र ११ हजार ६५० तिनका शाखा थिए भने २०८० मंसिर सम्ममा घटेर ११२ वटा बैंक तथा वित्तीय संस्था र ११ हजार ५७० तिनको शाखा रहेको तथ्यांकले देखाउछ । २०८० मंसिरमा सार्वजनिक ऋण २३ खर्ब ७१ अर्ब २६ करोड पुगेको देखिन्छ । यो ऋणको अंश यसरी नै बढ्दै जाने र उत्पादनमूलक क्षेत्रमा लगानी नहुने तथा पूँजिगत खर्चको अंश दिनप्रतिदिन घट्दै जानेको भने देश ऋणको पासोमा पर्ने पक्का छ ।
गत सालको तुलनामा यो वर्ष वैदेशिक सहायता प्रतिवद्धतामा पनि कमी आएको छ भने जीवन बीमाको दायरा जनसंख्याको ४४ प्रतिशत रहेकामा २०८० मंसिरमा आइपुग्दा घटेर ४३.१ प्रतिशतमा सीमित भएको छ । अहिले कुल वैदेशिक व्यापारको अंश हेर्दा ९१ प्रतिशत आयात र ९ प्रतिशत निर्यात देखिन्छ साथै वस्तुको निर्यात गत वर्षको सोही अवधिको तुलनामा ६.१ प्रतिशतले कमी छ भने आयात गत वर्षको सोही अवधिको तुलनामा ३.४ प्रतिशतले घटेको छ । यसले राजस्व संकलनमा पनि समस्या देखिएको छ ।
गत सालको तुलनामा पर्यटक आगमन बढेको देखिएको छ, जसका कारणले विदेशी मुद्राको संचिती बढेपनि पछिल्लो समय नेपालीहरुको विदेश घुम्न जानेको क्रम बढिरहेको र देशबाट युवा बाहिरिने क्रम बढेकोले तिनीहरुले विदेशी मुद्रा बाहिर लाने क्रम बढ्दा देशमा भविश्यमा विदेशी मुद्रा संचिती घट्ने खतरा पनि कायमै देखिन्छ।
यी सबै तथ्यांकलाई हेर्दा सरकारी पक्षले भने जस्तो अर्थतन्त्र खासै सुधारको अवस्थामा देखिदैन । तसर्थ सरकारले देशको अर्थतन्त्रको वास्तविक चित्र देखाउने स्वेतपत्र जारी गरी जनतामा रहेको दुविधालाई समाप्त गरी अगाडी बढ्नु पर्ने देखिन्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !