काठमाडौं । नियात्रा लेखनमा सक्रिय रहेकी स्रष्टा गीता रेग्मीलाई ७५ हजार राशीको ‘अनेवा नक्षत्र पुरस्कार–२०२२’ प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतले बुधवार आयोजित एक कार्यक्रमका बीच सो पुरस्कार स्रष्टा गीता रेग्मीलाई हस्तान्तरण गरेको हो। प्रतिष्ठानले नियात्राकार रेग्मीको २०७८ सालमा प्रकाशित नियात्रा कृति ‘प्रशान्तको तीरैतीर’ का लागि सो पुरस्कार प्रदान गरेको हो ।
अनेवा प्रतिष्ठानकी उपाध्यक्ष प्रा।डा। सुष्मा आचार्यको सभाध्यक्षमा भएको सो कार्यक्रममा बेलायतबाट आएका प्रतिष्ठानका कोषाध्यक्ष गोपी सापकोटा, समीक्षक हेम भण्डारी लगायतको पुरस्कार अर्पण समारोहमा आतिथ्यता रहेको थियो। पुरस्कार अर्पण गरेपछि बोल्दै सभाध्यक्ष तथा प्रतिष्ठानकी उपाध्यक्ष प्रा।डा। सुष्मा आचार्यले नियात्रा विधामा निरन्तर क्रियाशील रहेकोले गीता रेग्मीलाई यो पुरस्कार अर्पण गरिएको बताइन्। प्रतिष्ठानले साहित्य समाज पत्रकारितामा उल्लेख्य योगदान पुर्याउँदै आएका स्रष्टालाई यो पुरस्कार दिँदै आएको छ ।
प्रतिष्ठानका कोषाध्यक्ष गोपी सापकोटाले एउटै विधामा लामो समयसम्म समर्पित भएर लेखिरहनु ठूलो कुरा भएकोले गीता रेग्मीलाई प्रतिष्ठानले सम्मान गरेको बताए। त्यस्तै पुरस्कार ग्रहण गरेपछि बोल्दै गीता रेग्मीले पुरस्कारका लागि योग्य ठहर गरेकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरिन्। पुरस्कार ग्रहण गरेपछि चुनौति थपिएको बताउँदै जिम्मेवारीसँगै थप उर्जा मिलेको धारणा व्यक्त गरिन् ।
नियात्रामा बढी दख्खल राख्ने गीता रेग्मीको कविता, कथा र उपन्यास लेखनमा पनि उत्तिकै सक्रियता रहेको छ । २०६५ सालमा परिचय कथासंग्रहबाट साहित्यिक यात्रा शुरु गरेकी रेग्मीको पुस्तान्तर (संयुक्त कथासंग्रह) २०६६, ज्योतिका युगीन स्वरहरु (संयुक्त कवितासंग्रह) २०६७, पश्चिमाहरुको देशमा नियात्रासंग्रह २०६९, पत्थरैपत्थर नियात्रासंग्रह २०७४ र प्रशान्तको तीरैतीर नियात्रासंग्रह २०७८ प्रकाशित भइसकेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !