२०८२ असार ११ गते
काठमाडौँ । यस साताको चौथो कारोबार दिन आज सेयर बजारमा सामान्य सुधार आएको छ । उक्त दिन बजार २.५५ अंकले बढेर २६०३.०८ को विन्दुमा कायम भएको हो ।
आज ३११ कम्पनीको १ करोड ३७ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड रुपैयाँको शेयर कारोबार भएको छ। शेयर बजारमा सुधार देखिए पनि कारोबार रकम भने लगातार खुम्चिएको छ ।
यस दिन ७ उपसूचक राताम्य भएका छन् भने ६ उपसूचकमा छिनो सुधार देखिएको हो । आज ११२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ कम्पनीको घटेको छ । आज सबैभन्दा बढी बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ। कम्पनीको ५३ करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ३६ करोड १६ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ भने राधी विद्युत् कम्पनीको २४ करोड ८९ लाख ३८ हजार रुपैंया, सानिमा माई हाइड्रोपावरको २० करोड २० लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।
लगानीकर्ता के पर्खिरहेका छन् ?
शेयर बजारमा नीतिगत खासै अवरोध छैन तथापी बजार बढ्न सकेको छैन । असार मसान्त नजिकिँदै गर्दा लगानीकर्ताहरु यतिखेर तिरोतारे गर्न भएका शेयर बेचेर पैसा जम्मा गर्न लाग्दा पनि बजारमा माग नबढेको बताइन्छ । साथै कतिपय लगानीकर्ता मौद्रिक नीति र सूचीकृत कम्पनीहरुको चौथो त्रैमासिक वित्तीय विवरणको पनि पर्खाइमा रहेका कारण पनि बजारले वृद्धि लिन नसकेको बुझाई छ ।
प्रतिक्रिया