२०८१ पुस २८ गते
काठमाडौँ । छाउनीस्थित शांकरी विद्यालयको ७औँ वार्षिक खेलकुद कार्यक्रम एन्नुअल स्पोर्टस् कार्निभल २०८१ भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । शनिबार लगनखेलमा रहेको नेपाल आर्मी फिजिकल ट्रेनिङ एण्ड स्पोर्टस सेन्टरमा आयोजित खेलकुद कार्यक्रममा करिव ३० वटा खेल खेलाइएका थिए । कक्षा १ देखि १० सम्मका विभिन्न उमेर समूहका विद्यार्थीहरुले खेलमा भाग लिएका थिए । खेलमा प्रथम द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरुलाई गोल्ड,सिल्भर र ब्रोन्ज मेडल प्रदान गरिएको थियो ।

उद्घाटन सत्र र खेल सत्र गरी दुई भागमा विभाजित गरिएको कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका,सञ्चालक तथा अभिभावकहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उद्घाटन सत्रमा विद्यालयका पूर्व खेल प्रशिक्षक तथा खेलाडी दीपक विष्टले गेष्ट अफ अनरका रुपमा बोल्दै शांकरी विद्यालयमा काम गर्दाको प्रत्येक समय उत्कृष्ट रहेको बताउनुभयो । त्यसैगरी विद्यालयका सीईओ विदुर अधिकारीले विद्यार्थीहरुको खेलप्रतिको लगाव र खेल प्रदर्शनले थप उत्साहित बनाएको बताउनुभयो । विद्यालयलाई अध्ययनसँगै खेलकुदमैत्री बनाउने कुरामा आफू दृढ रहेको उहाँको भनाई थियो । शनिबार सम्पन्न खेलकुट कार्यक्रममा फुटबल,रिले दौड,खोखो,नेटबल,बास्केटबल,डोरी तान्ने जस्ता खेल खेलाइएका थिए ।

खेलकुदको अन्तमा विद्यालयका शिक्षक तथा अभिभावक बीच प्रतिस्पर्धात्मक खेल खेलाइएका थिए जुन निकै रोचक रहेको थियो । विद्यार्थीहरुको ज्ञान,विज्ञान,सीप,उद्यम र मौलिकता विकास गर्ने गरी अध्यापनमा जोड दिँदै आएको शांकरी स्कुलले हालै मात्र बागमती प्रदेश सरकारबाट उकृष्ट विद्यालयमा पर्न सफल भई पुरस्कृत भएको छ ।

प्रतिक्रिया